सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. ‘के तपाईंलाई ठीक छ?’
पछिल्लो समय क्रमिक रूपमा मानसिक समस्या बारे जनचेतना बढेसँगै आम मानिसमा यसप्रति चासो देखिन थालेको छ। यो सकारात्मक कुरा हो। तर, हामीमध्ये धेरैमा आफूले चिने-जानेको व्यक्तिमा मानसिक समस्या छ कि भन्ने लागेमा यसबारे कसरी कुरा गर्ने भन्ने जानकारी भने छैन। यस्तो जानकारी नहुँदा खुलेर कुरा गर्न अप्ठ्यारो हुने गरेको धेरैको अनुभव छ। ‘कसैलाई मानसिक समस्या वा तनाव भएको लागेमा कसरी कुरा गर्ने’ भन्नेमा केन्द्रित रहेको डा. मधु बस्नेतको आलेख।
२. कोरोना बीमाको भुक्तानी पाउनै गाह्रो, संक्रमण बढेपछि बीमा कम्पनीले नै निरुत्साहित गर्न थाले
कोरोना बीमा शुरु भएको डेढ महीनामै १२ लाख ८० हजारले बीमा गरेपछि कम्पनीहरुलाई जोखिम बढी भएर भुक्तानी विवाद हुँदा सरकारले २९ भदौमा मापदण्ड परिवर्तन गरेर सहजीकरण गर्यो। तर, निजी कम्पनीहरूले अझै पनि भुक्तानीमा आनाकानी गर्दा र यो बीमालाई निरुत्साहित गराउँदा समग्र बीमाप्रति नै विश्वास घट्ने देखिएको छ। राजु बास्कोटाको रिपोर्ट।
३. मञ्जु मलासीः नगरको रूप फेर्दै हक्की मेयर
डोटीको दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले उद्देश्यमा स्पष्टता र कार्यसम्पादनमा निडरताको परिचय दिंदै काम शुरू गरेको साढे दुई वर्षमै नगरमा उदाहरणीय काम गरेकी छिन्। १३ असोजको दिन घाम पश्चिम पहाडमा सुस्ताउने तर्खर गर्दैछ, डोटीको पुरानो सिलगढी बजारबाट शैलेश्वरी मन्दिर जोड्ने सडकको किनारमा कामदारहरू धमाधम नाली बनाइरहेका छन्। अघिल्तिर डोजरले बाटो विस्तार गरिरहेको छ। सडकमा काम गरिरहेका मजदूरसँगै छिन्, दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासी। मुकेश पोखरेलले तयार पारेको सामग्री।
४. डा. केसी बचाऔं, लोकतन्त्र जोगाऔं
निर्दयी र आसेपासे पूँजीवादको चंगुलमा फसेको सरकार, साखुल्ले बन्दै गरेको समाजमा डा. गोविन्द केसीको सत्याग्रह ओज होइन बोझ बनिरहेको छ, जुन लोकतान्त्रिक समाजका निम्ति विडम्बना सिवाय केही होइन। डा.केसीले बारम्बार एउटै मान्यतामा आधारित मागका खातिर बारम्बार अनशन आन्दोलन गरिरहुन्, २५औं दिनसम्म अनशन लम्बिनुको अर्थ हामीले हाम्रो लोकतन्त्रलाई त्यति परिपक्व र समुन्नत बनाउन नसकेको प्रमाण पनि हो, जहाँ सत्याग्रहको ओज महसूस गर्न सकियोस्। वा यसो भन्न सकिन्छ अहिले हाम्रो लोकतन्त्र त्यस्ता व्यक्ति र विचारको नियन्त्रणमा पुगेको छ, जसले सत्याग्रहको भाषा नै आत्मसात् गर्न सक्तैन, त्यसैले सत्याग्रह र सत्याग्रही विरुद्ध विषवमन गर्दै बस्छ। किरण नेपालको सम्पादकीय।
५. कहाँ पुग्यो चीनबाट पेट्रोलियम पदार्थ ल्याउने योजना ?
उत्तरी छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सरकारको पाँच वर्ष पुरानो योजना अलपत्र परेको छ, तर नेपाल आयल निगमले इन्धन ल्याउने आशा अझै मारेको छैन। २०७२ असोजमा नेपालले नयाँ संविधान जारी गरेपछि रुष्ट बनेको भारतले नेपालमा पेट्रोलियम पदार्थसहितका अत्यावश्यक वस्तुको आपूर्ति रोक्यो। भारतले आपूर्ति प्रणाली नै अवरुद्ध बनाइदिएपछि विकल्पका रुपमा सरकारी स्वामित्वको नेपाल आयल निगमले सोही वर्षको कात्तिकमा चिनियाँ सरकारी स्वामित्वको कम्पनी पेट्रो चाइनासँग दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थ चीनबाट ल्याउन सम्झौता गर्यो। चीनबाट तेल ल्याउन भनेर सरकार पटक–पटक हौसिए पनि ल्याइहाल्न सोचेजति सजिलो भने छैन। रमेश कुमारको रिपोर्ट।
६. ‘स्वास्थ्य संकटकाल’ लगाऔं
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष ११ चैतमा बन्दाबन्दी शुरू गर्दा देशमा ‘ट्राभल हिस्ट्री’ रहेका दुई जना मात्र कोरोनाभाइरस संक्रमित फेला परेका थिए। तर, संक्रमण आधिकारिक रूपमा पुष्टि भएको ठीक आधा वर्षपछि अर्थात् अहिले कोरोनाभाइरस रक्तबीज झैं फैलिएर संक्रमितको संख्या एक लाख नजिक पुगिसकेको छ भने यसबाट मृत्युवरण गर्नेको संख्या पनि ६०० को निकट छ। अकर्मण्य सरकार र अटेर नागरिकका कारण दशैंअघि नै कोभिड–१९ महामारीले विस्फोटको रूप लिने देखिन्छ। त्यसैले तत्काल स्वास्थ्य संकटकाल लगाइहाल्नु विवेकी निर्णय हुनेछ। शेखर खरेलको टिप्पणी।
७. बलात्कारलाई सर्वोच्च अदालत नै मान्छ महिलाको इज्जतमाथिको दाग !
सर्वोच्च अदालतले समेत बलात्कारलाई महिलाको व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र आत्मनिर्णयको अधिकार विरूद्धको अपराधका रूपमा भन्दा बढी इज्जत र प्रतिष्ठामा लाग्ने दागका रूपमा चित्रण गरिरहेको छ। सर्वोच्चका फैसलाहरू केलाउँदा बलात्कारलाई महिलाको व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्णयको अधिकार विरूद्ध तथा मानवअधिकारको हननका लागि भएको अमानवीय कार्यका रूपमा भन्दा बढी महिलाको इज्जत र प्रतिष्ठामाथिको दागका रूपमा चित्रण गरिएको देखिन्छ। तुफान न्यौपानेको रिपोर्ट।
८. कसरी फैलियो चीनले नेपाली भूमि मिचेको हल्ला ? यो हो लोलुङजोङको खास कथा
उत्तरी हुम्लाको लिमी उपत्यकामा अवस्थित लोलुङजोङमा चिनियाँ पक्षले नेपाली भूमिमै भवन निर्माण गरेको चर्चाले केही समयअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत हुम्लाले महत्वपूर्ण स्थान पायो। परराष्ट्र मन्त्रालयले नै त्यो भूमि नेपालको नभएर चीनकै भएको प्रष्टीकरण दिनुपर्यो । आखिर किन चल्यो यस्तो चर्चा ? के हो लोलुङजोङको वास्तविकता ? नवराज महताराको रिपोर्ट।
९. वामदेव गौतमको मुद्दा : संविधानको संरक्षण तथा पालनाका लागि नजर अदालतमा
हाम्रा आधारभूत कानूनी संस्थाहरू प्रजातान्त्रिक सड्न (डेमोक्रेटिक डिके) को बढ्दो जोखिममा छन् भन्ने तर्कमा सन्तुष्ट हो भने प्रस्तुत निवेदकलाई कसरी उपचार प्रदान गर्ने भन्नेमा सर्वोच्च अदालतले सोच्नुपर्छ। निवेदकको मागदाबी प्रमाणिक भएको अवस्थामा सर्वोच्च अदालतलाई प्राप्त उचित आज्ञा, आदेश वा पुर्जी जारी गर्ने अधिकारको प्रयोग प्रस्तुत रीट निवेदनमा पनि गर्नुपर्छ। प्रजातान्त्रिक सड्नको बढ्दो जोखिमलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण तरिका यही नै हो। डा. विपिन अधिकारीको टिप्पणी।
१०. तेजाब पीडितहरुका सारथिः एउटा मान्छेको साथले फरक पार्दछ जिन्दगीमा...
राष्ट्रपति विद्यादेवी भण्डारीले १२ असोजमा दुवै अध्यादेश जारी गरिन्। योसँगै तेजाब आक्रमणमा परेकाहरुको जीवन परिवर्तन हुन थालेको छ। यसका लागि धेरै सचेत नागरिक धन्यवादका पात्र छन्। तर, उज्ज्वलविक्रम थापा (५१) को योगदान भने भुल्नै नसकिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गएको १२ असोजमा तेजाब बेचबिखनलाई नियमन गर्ने र आक्रमणकारीलाई कडा कारबाही गर्ने सम्बन्धी दुई अध्यादेश जारी गरेपछि भारतबाट अमिताभ बच्चनले फोन गरेर उज्ज्वलविक्रम थापालाई बधाई दिए। उज्ज्वलका लागि त्यो बिर्सिनसक्नुको दिन भयो। सविना देवकोटाको रिपोर्ट।
११. सार्वजनिक तथा भर्चुअल मञ्च किन हुँदैन समावेशी ?
मञ्चमा पुरुष मात्रै हुने कार्यक्रमको विरोध स्वरुप साथी नामक गैरसरकारी संस्थाले दुई वर्ष अघि ‘पुरुष मात्रै हुने मञ्च बहिस्कार गरौं’ अभियान शुरु गरेको थियो। अहिले त्यस्ता कार्यक्रम भर्चुअल माध्यममा सीमित हुँदा पनि महिलालाई कमै मात्र सहभागी गराइन्छ भने फरक क्षमता भएका र यौनिक अल्पसंख्यक त हुँदै हुँदैनन्। नुनुता राईको रिपोर्ट।
१२. प्राकृतिक प्रकोपमा किन हुन्छ पुरुषभन्दा महिलाको मृत्यु ?
२७ भदौ राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा ठूलो धनजनको क्षति भयो। नगरप्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोमा ३१ जनाको मृत्यु भएकोमा १६ जनाको शव भेटिएको छ भने १५ जना अझै हराइरहेका छन्। मृत्यु हुने र हराएकामध्ये २० जना महिला छन् भने ११ जना पुरुष। पाँच वर्षअघिको महाभूकम्पमा होस् वा यस वर्षका ठूल्ठूला पहिरोमा, पुरुषभन्दा महिलाकै ज्यान बढी गइरहेको छ। तुफान न्यौपानेको रिपोर्ट।
१३. के थारु अशुध्द उच्चारण गर्ने जाति हो ?
कथ्य थारु भाषा लेख्य रुपमा आउन थालेको धेरै भएको छैन। हजारौँ थारु श्लोक मुखाग्र गाउने लोकगायकहरुले आपूmले जानेका लोककाव्य अझै पनि आफैँ लेख्दैनन्। लोकभाषाप्रति पहिलो अन्याय यहीँबाट शुरु हुन्छ। उनीहरुले उच्चारण गरेको वर्णविन्यासलाई हामी औपचारिक शिक्षा पढेका थारुहरुले बुझ्दैनौँ। अनि त नेपाली वर्णविन्यासमा लेख्नुपर्छ। अशोक थारुको ब्लग।
१४. संक्रमणकालीन न्याय: फेरि अन्तर्राष्ट्रिय कठघरामा नेपाल
द्वन्द्वकालीन ज्यादतीबारे राष्ट्रसंघीय मानवअधिकार समितिले गरेका फैसला, पीडित र राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय समुदायले पटक–पटक गरेका सिफारिश कार्यान्वयनमा रुचि नदेखाएको नेपालका लागि राष्ट्रसंघीय मानवअधिकार परिषद्को आउँदो निर्वाचन र मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) न्यायिक कठघरा भन्दा कम कठिन हुने छैन। तुफान न्यौपानेको रिपोर्ट।