‘उपप्राध्यापक चलाउने माथिको आक्रमण दलका भ्रातृ संगठन र आपराधिक व्यक्तिले गरेको उछृङ्खल घटना’
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यपक प्रेमबहादुर चलाउनेमाथि विश्वाविद्यालय परिसरमा भएको सांघातिक हमला राजनीतिक दलका भ्रातृ संगठन र आपराधिक व्यक्तिले गरेको उछृङ्खल कार्य भएको भन्दै चार जना प्राध्यापकले ध्यानाकर्षणसहित आफ्नो मत सार्वजनिक गरेका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै प्राध्यापकहरू केदारभक्त माथेमा, पिताम्वर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले 'केही उछृङ्खल व्यक्तिहरुले केन्द्रिय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि दिनदहाडै, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालय अगाडिको सडकमा विहानै १० बजेको वरपर सांघातिक आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। उनीहरूले घटनाको निन्दा गर्दै अपराधीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
"हामी सो घटनाको निन्दा गर्दछौं, अपराधीरूलाई तुरुन्त पक्डिएर दण्ड–कारवाही गर्न सुझाउछौं, र यस घटनाका संचालकहरू प्रति घृणा व्यक्त गर्दछौं। साथै श्री चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालयले गरोस र उहॉको चॉडो स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दछौं", चार जना प्राध्यापकद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, "मूख्यतः हामी यो भन्न बाध्य छौं कि यो घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समुहको आडमा भएको हो। यो र अरू यस्तै अनेकन् विकृतिहरूको जिम्मेवारी लिएपनि वा यसवाट उम्के–भागेपनि यसको केन्द्रमा राजनीतिक दलहरु नै बसेका छन्। प्राज्ञिकता लगायत अन्य सवै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आवद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरुमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरुको आत्मसंमानमा घाउलागेको छ र उन्नति रोकेको छ।"
चार जना प्राध्यापकद्वारा जारी विज्ञप्ति
हाम्रो ध्यानाकर्षण र मत
चार दिन पहिले, असोज २१,२०७७ मा केही उछृङ्खल व्यक्तिहरुले केन्द्रिय समाजशास्त्र विभागका उपप्राध्यापक श्री प्रेम चलाउने माथि दिनदहाडै, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालय अगाडिको सडकमा विहानै १० बजेको वरपर सांघातिक आक्रमण गरेको घटनाप्रति हाम्रो ध्यान गम्भीर रुपले आर्किर्षत भएको छ। उपप्राध्यापक चलाउनेलाई बॉस र फलामे डण्डीले जिउभरी खास गरेर टाउको र गोडाको माथिल्लो भागमा निर्ममतापूर्वक हानिएको छ र नीजको जिउभरी नीलडाम एवं टाउकोभरी घाउहरु छन्। र उहॉको गोडा भॉचिएको छ। हाल उहॉको उपचार भैरहेको छ। अपरेशन सफल भएछ भने पनि, डाक्टरहरुले ६–८ महिना घरमै आराम गर्न सिफारीश गरेका छन्। हामी सो घटनाको निन्दा गर्दछौं, अपराधीहरुलाई तुरुन्त पक्डिएर दण्ड–कारवाही गर्न सुझाउछौं, र यस घटनाका संचालकहरु प्रति घृणा व्यक्त गर्दछौं। साथै श्री चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालयले गरोस र उहॉको चॉडो स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दछौं।
मूख्यतः हामी यो भन्न बाध्य छौं कि यो घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समुहको आडमा भएको हो। यो र अरु यस्तै अनेकन् विकृतिहरुको जिम्मेवारी लिएपनि वा यसवाट उम्के–भागेपनि यसको केन्द्रमा राजनीतिक दलहरु नै वसेका छन्। प्राज्ञिकता लगायत अन्य सवै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आवद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरुमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरुको आत्मसंमानमा घाउलागेको छ र उन्नति रोकेको छ।
राजनीतिक दलहरु यो मुलुकको नेतृत्वकर्ता हुन्। नेतृत्वले मुलुक र यसका नागरिकहरुलाई उत्कृष्टता हासिल गर्न प्रोत्साहित गर्नुपर्छ। तर यस्तो लाग्छ, मुलुकका सबैजसो राजनीतिक दलहरु, मुख्यतया आफ्ना भ्रातृसंगठनहरु मार्फत नागरीकहरुको व्याबसायिक उत्साहलाई गॉज्न र व्यक्ति र समुहरुबीच कलह रोप्न लागिपरेका छन्। त्रि वि, कीर्तिपुर लगायत मुलुकभरिका कार्यालय र संघसंस्थाहरुमा यो स्थिति प्रत्यक्ष अनुभुत हुन्छ।
हामी राजनीतिक दलहरुलाई यो स्थिति उल्टयाउन निवेदन गर्दछौं। विश्वविद्यालय लगायत सवै कार्यालय र संघसंस्थाहरुमा दल र तिनका भ्रातृसंगठनहरुका गैरराजनीतिक र अपवित्र होडवाजी सदाकोलागि अन्त्य होस् भन्ने चाहन्छौ। श्री प्रेम चलाउने जस्तै अन्य शिक्षक, विद्यार्थी, श्रमिक आदी अब आइन्दा प्रताडित नहुन्, वरु उनिहरुको जोश जॉगर, सीप आदी प्रस्फुटित होओस् र उनिहरुले आ–आफना पेशा–व्यवसाय उत्कृष्ट रुपले संचालन गर्न सकुन्।
हामी राजनीतिक दलहरुलाई राष्ट्रिय तहको गहन् आपसि छलफल मार्फत व्यापक र गहिरो दलीयकरणले निम्त्याएको विकराल राजनीतिक, शासकीय लगायत सुखशान्ती र उन्नति संग जोडिएको समस्याको हल निकाल्न गम्भीरतम् वजनका साथ आह्वान गर्दर्छाै।
केदारभक्त माथेमा
पिताम्वर शर्मा
कृष्ण खनाल
चैतन्य मिश्र