बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
बाँकेमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका–९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करीब नौ बजे मृत्यु भएको हो। निमोनियाबाट ग्रसित उनको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए।
यसैगरी, कोहलपुर नगरपालिका–९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति ११ बजे मृत्यु भएको छ।
श्वास प्रश्वासमा समस्या भएपछि १३ असोजमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करीब १० बजे भेरी अस्पतालमा पठाएको थियो। अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको श्रेष्ठले बताए।
योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।