भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नजिक
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नजिक पुगेको छ। पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ छ।
यसमध्ये ५९ लाख ८५ हजार ५०५ जना निको भएका छन्। ८ लाख ८४ हजार ५३ सक्रिय संक्रमित रहेको भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख सात हजार ४५० जनाको मृत्यु भएको छ।
गत २४ घण्टमा मात्र भारतमा ७३ हजार १९६ जना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै कोरोना संक्रमित हुने विश्वका देशमध्ये भारत दोस्रो स्थानमा छ। अमेरिका पहिलो र ब्राजिल तेस्रो स्थानमा छन्।
नेपालमा भने शुक्रबार संक्रमितको संख्या एक लाख नाघेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एक लाख ६७६ जनामा कोरोना संक्रमण भएको छ।
हाल मुलुकमा सक्रिय संक्रमितको संख्या २७०५३ जना रहेको छ। यसमध्ये संस्थागत आइसोलेसनमा १११७६ जना र होम आइसोलेसनमा १५८७७ जना रहेका छन्।
क्वारेन्टिनमा ४७०३ जना रहेका छन्। हालसम्म कोरोनाबाट निको भएकाहरूको संख्या ७३ हजार २३ पुगेको छ। संक्रमितमध्ये नेपालमा ६०० जनाको मृत्यु भएको छ।