गर्भवतीका लागि हवाई उद्धार: सेवा छ तर गर्भवती-सुत्केरीको ज्यान गइरहन्छ
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू छ। राज्यले खर्च गरेर हवाई उद्धार सेवा पनि उपलब्ध गराइ नै रहेको छ। तर, सुत्केरी हुन नसकेर गर्भवती महिलाको ज्यान जान भने अझै रोकिएको छैन।
बिहीबार, २२ असोजमा मात्रै बाजुराको बुढिनन्दा नगरपालिका-४, कुरुकी एक गर्भवती महिलाको बाटोमै मृत्यु भयो। आफन्तका अनुसार घरमा सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा २३ वर्षीया अम्बकला रोकायाको बाटोमा नै मृत्यु भएको हो।
गाउँमा प्रसूति सेवा नभएपछि आफन्तले बोेकेर पाँच घण्टाको दूरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा उनको मृत्यु भएको बुढिनन्दा नगरपालिका-४ का वडाध्यक्ष राजन रोकायाले बताए।बिहीबार दिउँसो सुत्केरी ब्यथाले च्यापेपछि अम्बकलालाई गाउँमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ प्रसूति सेवा दिने तालिम प्राप्त स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टी ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको रोकायाको भनाइ छ।
कुरु गाउँमा प्रसूति केन्द्र स्थापना नहुँदा सो क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको ज्यान यसैगरी जोखिममा पर्ने गरेको छ। अघिल्लो वर्षको भदौमा पनि बुढिनन्दा नगरपालिका–१०, पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोराको जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको थियो।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र टाढा रहेकोले अस्पताल ल्याउँदै गर्दा धेरै महिला बाटोमा बच्चा जन्माउन बाध्य भएको अध्यक्ष रोकाया बताउँछन्। “सुत्केरी बोकेर ल्याउँदा पाँच घन्टा समय लाग्छ। सुत्केरी गराउने सम्पूर्ण सामग्रीदेखि बत्तीको पनि सुविधा छ। एक जना सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था छ, तर बाटो सहज छैन”, अध्यक्ष रोकायाले भने।
बाजुरामा यसैगरी ज्यान गुमाउने अम्बकला र निर्मला उदाहरण मात्रै हुन्। गत वर्ष २०७६/७७ मा मात्र बाजुरामा पाँच जना सुत्केरी महिलाले उपचार अभावमा ज्यान गुमाए। तर जिल्ला स्वास्थ्य कार्यालयसँग भने यो आर्थिक वर्षमा सुत्केरी हुने क्रममा बाजुरामा तीन जनाले मात्रै ज्यान गुमाएको तथ्यांक छ। मृत्यु भएका सुत्केरीहरूमध्ये चार जनाको स्वास्थ्य संस्थामा र एक जनाको धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। स्वास्थ्य संस्थामा मृत्यु हुनेमा दुई जनाको जिल्ला अस्पताल बाजुरामा, एक जनाको त्रिवेणी नगरपालिकाको छतारा स्वास्थ्य चौकीमा र एक जनाको गोत्री सामुदायिक स्वास्थ्य इकाइ केन्द्रमा मृत्यु भएको थियो।
११ जनाको हवाई उद्धार
जसरी बाजुराको जिल्ला स्वास्थ्य कार्यालयसँग सुत्केरी हुन नसकेर ज्यान गुमाउने गर्भवतीको यकिन तथ्यांक छैन त्यसैगरी तथ्यांकमा नै समेट्न नसकेर ज्यान गुमाउनेको सूची सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा लामै छ।
प्रदेश सरकारले गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका ११ महिलाको हवाई उद्धार गरेर उपचार गराइएको बताएको छ। जसमध्ये उपचारकै क्रममा दुइ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै लागू भएकोले प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर जोखिममा परेकाहरूलाई निःशुल्क हवाई उद्धार गरिरहेको बताए।
अछामको चौरपाटी गाउँपालिका–५ की २१ साताकी गर्भवती २५ वर्षीया निर्मला खड्का र कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २३ वर्षीया लजिमा मगरको २६ जेठमा उद्धार गरिएको र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।
निर्मलाको आन्द्रामा समस्या देखिएपछि अछामकै बयलपाटा अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हवाई उद्धार गरी बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज लगिएको थियो। उनको आन्द्राको शल्यक्रिया सफल भएको मन्त्रालयका सूचना अधिकारी खड्काले बताए।
यस्तै, सोही दिन कञ्चनपुरकी लजिमालाई सुत्केरी भएपछि मिर्गौलामा समस्या देखिएर धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएकोमा स्वास्थ्य जटिल देखिएपछि हवाई उद्धार गरी काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याइएको उनले बताए।
बझाङको केदारस्यु गाउँपालिकाकी ३३ वर्षीया जानकीदेवी रावललाई गत वर्ष २२ वैशाखमा कैलालीबाट हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको थियो। ११ दिनकी सुत्केरी उनलाई पेट सुनिने समस्या भएपछि डडेल्धुरा अस्पतालबाट रेफर गरी सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा त्यहाँबाट हवाई उद्धार गरी काठमाडौं लगिएको थियो। तर, उपचार गराएर फर्केको सातापछि उनको मृत्यु भयो।
यस्तै, अछामको रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएर तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याइएको थियो। शल्यक्रियाकै क्रममा बच्चाको मृत्यु भएको थियो। उनी भने स्वस्थ छिन्।
महाकाली नगरपालिका–१ की ३२ वर्षीया कौसिला धामीको गत वर्ष १० फागुनमा हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। सुत्केरी हुने समयअगावै धामीले बच्चा जन्माएकी थिइन्। ६ महीनामै बच्चाको जन्म भएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो ।
बझाङ केदारस्यु गाउँपालिका–७, काँडाचौरकी ज्ञाना धामीको २०७६ भदौ १० मा हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको थियो।
सेनाको भन्दा प्राइभेट हेलिकप्टरको बढी प्रयोग
सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म उद्धार गरेका ११ जनामध्ये ३ जनाको सेनाको हेलिकप्टर र ८ जनाको प्राइभेट हेलिकप्टरबाट उद्धार गरिएको छ।
सेनाको हेलिकप्टरबाट उद्धार गर्दा कम खर्चिलो तर बढी झन्झटिलो भएको कारण प्राइभेट हेलिकप्टर बढी प्रयोग गरिएको खड्काले बताए। उनले अकस्मात उद्धार गर्नुपर्ने हुँदा सेनाको हेलिकप्टर जुनसुकै बेला तयारी अवस्थामा नहुँदा प्राइभेटलाई प्रयोग गरेको बताए।
सेनाको हेलिकप्टरमा साढे तीन लाखदेखि चार लाखसम्म एउटा व्यक्तिलाई उद्धार गर्न खर्च हुन्छ भने प्राइभेटमा प्रतिव्यक्ति चारदेखि साढे सात लाखसम्म खर्च हुन आउँछ।
सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि २०७५ पारित गर्दा शुरूमा एक करोड बजेट विनियोजन गरेको थियो। सो रकम अपुग भएपछि पुनः ५०-५० लाख गरी दुई पटक रकम विनियोजन गरिसकेको सूचना अधिकारी खड्काले बताए।