चुनावको मुखमा बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले दियो जमानत
बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालूप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ। चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ। भारतीय समाचार संस्थाहरूका अनुसार एउटा अर्को मुद्दामा सुनुवाई हुन बाँकी भएकाले उनी तत्काल जेलमुक्त भने हुनेछैनन्।
समाचार स्रोतहरूलाई उद्धृत गर्दै एनडीटिभीको अनलाइन संस्करणले लेखेको छ, "अन्तिम मुद्दामा अबको एक महीनामा जमानत मिल्नेछ, लालू यादवले सजायको पचास प्रतिशत जेलमा बिताइ सकेको आधारमा उनलाई सबै मामलामा जमानत दिन लागिएको हो।"
बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ।
तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनु पर्नेछ। यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन्।
लालू यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन्। उनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन्।
लालू यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ।