जुध्दशमशेरको किस्सा र शिकार शिविर
राणा शासकहरूले अंग्रेजहरूलाई शिकार खेल्न तराईका जंगलमा आमन्त्रण गर्ने र उतैबाट बिदा गर्ने, काठमाडौं प्रवेश नगराउने रणनीति अपनाएका रहेछन्।
राणा प्रधानमन्त्रीहरूका बारेमा अनेक किस्सा, किंवदन्ती र कतिपय ‘रे’ का कुरा नेपाली जनमानसमा प्रचलित छन्। जुद्धशमशेरका बारेमा पनि केही उरन्ठेउला किस्सा छन्। तिनैमध्येको एउटा प्रसङ्ग यहाँ उल्लेख गरौं।
काठमाडौंको लैनचौरमा इस्ट इन्डिया कम्पनी सरकारको आवासीय कार्यालय थियो। त्यहाँ ब्रिटिश सरकारको रेजिडेन्ट बस्थे, तिनलाई बडासाहेब पनि भनिन्थ्यो। एकदिन जुद्धशमशेरको लैनका अंग्रेज बडासाहेबसँग कुरा हुँदा दोस्रो विश्वयुद्धको प्रसङ्ग उठेछ। कुराकानीको क्रममा ‘यो कुरा सत्य हो’ भन्नु परेछ। तर, अंग्रेजीमा सत्य भन्न नआएपछि उनी अड्किएछन् र विदेश मामिला हेर्ने प्रकटमान सिंहसँग सोधेछन्– “साँचोलाई अंग्रेजीमा के भन्ने ?”
जुद्धले अंग्रेज बडासाहेबको कुरामा सही थाप्न ठाँटपूर्वक अंग्रेजीमा भनेछन्, “दिस इज की।” अनि पो प्रकटमानले बल्ल प्रसङ्ग बुझेर भनेछन्, “होइन सरकार, ‘दिस इज ट्रुथ’ भन्नुपर्छ।”
सरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपाल पुस्तकमा लेखे अनुसार, जुद्धशमशेरलाई बडासाहेबसँग आफ्नो भनाइ सच्याउन मन भएनछ। छोराले बोलेपछि बोल्यो बोल्यो भन्दै जोड दिए रे ‘दिस इज की’ नै हो।
कसैकसैले यो कुरा चन्द्रशमशेरको खिसी गरेको र उनलाई नरुचाउने मानिसहरूको झूटा कुरा पनि भन्छन्। त्यो प्रसंग उनीबारेको ठट्टा नै थियो।
यथार्थ कुरा चाहिं के थियो भने, वास्तवमा जुद्धशमशेरलाई अंग्रेजी भाषामा दख्खल थिएन। तर, चिठीपत्र लेख्दा स्पेलिङको कुनै वास्ता नगरी प्रशस्त अंग्रेजी शब्द प्रयोग गर्थे रे। उनको अलि धाक र फूर्ति देखाउने बानी रहेछ। विदेशीसँग हात मिलाउँदा हात झट्कारिदिन्थे रे। सुन्ने मानिस नै हतासिने गरी एकाध अंग्रेजी शब्द जोडसँग बोल्थे रे।
धरहराबाट बिगुल फुक्न लगाए
राणा शासकहरू दोस्रो विश्वयुद्धमा अंग्रेजको लगातार हारका कारण वाक्क भएका थिए। उनीहरू कतै अंग्रेजले जितेको खबर आयो भने निकै स्वाद मानेर सुन्थे। त्यति बेला रेडियो सारै थोरै मानिसको घरमा मात्र हुन्थ्यो। श्री ३ जुद्धशमशेरलाई विदेशी अखबार मीर सुब्बा–विश्वमणि आदीले पढेर सुनाउँथे। अंग्रेजको जितको साना खबरले पनि जुद्ध दङ्ग पर्ने हुँदा बासीतासी खबर पनि खोजी खोजी सुनाउँदा रहेछन्।
बीबीसीले सन् १९४३ जुलाई १० मा बेलायती–अमेरिकी संयुक्त फौजले इटालीको सिसिलीमा युद्ध लडेको खबर बढाइँचढाइँ प्रचार गरेछ। यता श्री ३ जुद्धलाई युद्ध नै जितिए जस्तो भान परेछ। तब उनी तुरुन्त फौजी पोशाकमा सेतो अरबी घोडा चढेर सदर टुँडिखेलमा खरीको बोटमा पुगेछन्। धरहराबाट बिगुल बजाएर नेपाली जनतालाई खुशीको खबर चाँडो सुनाउन हतार गरेछन्।
सिसिलीमा अंग्रेज–अमेरिकी फौज पुगेपछि एक किसिमले युद्ध नै टुंगियो भन्ने बीबीसीको हडबडे प्रसारणले यो अवस्था ल्याएको थियो। जुद्धले त्यो खुशियालीमा जुवा खेल्न लगाइएको प्रतिबन्ध समेत फुकाए।
सिनो हेरेर बाघ वा बघिनीको अनुमान
राणा शासनमा शिकारी अड्डा नै थियो। त्यो अड्डाका हाकिम मेजर, कप्तान हुन्थे र उनीहरू मातहत अनेक शिकारी हुन्थे। तिनताका काठमाडौंका खेतमा कालिज, तित्रा, लुइचे छ्यासछ्यास्ती पाइन्थे। कर्याङकुरुङ आउने र जाने ऋतुमा मनोहराको किनारभरि छ्याप्पै ढाकिएको हुन्थ्यो।
जंगली जनावरले दुःख दियो भन्ने उजुरी परेका जिल्लाहरूमा शिकार आयोजना गरिन्थ्यो। सन् १९७८ मा बेलायतका युवराजले ठोरीमा शिकार खेल्न आउँदा चितवनको कसरा क्याम्पमा ४२८ वटा हात्ती जुटाइएको थियो। त्यसबेला तराईमा धेरै जनाले हात्ती पाल्थे। छोरीको विवाहमा हात्ती दाइजो दिइन्थ्यो।
जंगली जनावरले दुःख दियो भन्ने उजुरी परेका जिल्लाहरूमा शिकार आयोजना गरिन्थ्यो। सन् १९७८ मा बेलायतका युवराजले ठोरीमा शिकार खेल्न आउँदा चितवनको कसरा क्याम्पमा ४२८ वटा हात्ती जुटाइएको थियो। त्यसबेला तराईमा धेरै जनाले हात्ती पाल्थे। छोरीको विवाहमा हात्ती दाइजो दिइन्थ्यो।
शिकारमा जाँदा बाघलाई लोभ्याउन ठाउँ छानीछानी भैंसीका पाडा किला ठोकेर बाँधिन्थे। जंगलमा बाँधिएका पाडा राति आत्तिएर कराउँथे। पाडाको आवाज सुनेर पाटे बाघ आउँथे। बाघले पाडाको रगत खान्थ्यो र सिनो बोकेर अलि परसम्म लैजान्थ्यो र पानी खाएर मस्तसँग निदाउँथ्यो।
भोलिपल्ट बिहान शिकारी सिनो हेर्न जान्थे। पाडो खाने बाघ हो कि बघिनी छुट्याउन शिकारीहरूले सिनो हेरेर थाहा हुने उपाय पत्ता लगाएका थिए। बघिनीले खाएको रहेछ भने पुच्छरतिरबाट खाएको हुने र टाउकोतिरबाट खाएको रहेछ भने बाघले खाएको हुने मान्यता रहेछ।
अंग्रेजलाई काठमाडौं नभित्र्याउने रणनीति
राणा शासनमा शिकारका शिविर निकै ठूला हुन्थे। शिकारमा महाराज, महारानी, रानी नानीहरू लगायत धेरैलाई लगिन्थ्यो। उनीहरूका लागि बेग्लाबेग्लै पाल हुन्थे। हरेक पालको अगाडि धुनी जगाइएको हुन्थ्यो।
राणा कालमा सबभन्दा ठूलो बाघ केशरशमशेरले मारेका रहेछन्, ११ फूट १ इञ्चको। भूपालका नबावले सबभन्दा ठूलो महासेर माछा कर्णालीमा समातेका रहेछन्।
राणा सरकारले अत्यन्त ठूलो फाँटको शिकार चितवनमा २००१ माघमा जंगी लाठ लर्ड ओएमललाई खेलाएको थियो। उनी दिल्लीबाट हवाई जहाजमा कसरा मैदानमा ओर्लिएका थिए। के थियो कुन्नि, राणा शासकहरू बेलायतीहरूलाई काठमाडौं छिराउन चाहँदैन थिए।
बेलायतका जर्ज पञ्चम, एडवार्ड सप्तम र अष्टम समेत राजा भएपछि वा युवराज हुँदा शिकार खेल्न नेपाल आएका थिए। भारतमा आएका अंग्रेजी जंगी लाठ, लाठ साहेब, कमाण्डर इन चीफहरू त नेपालमा शिकार नखेली फर्कदैनथे।
राणा सरकारले अत्यन्त ठूलो फाँटको शिकार चितवनमा २००१ माघमा जंगी लाठ लर्ड ओएमललाई खेलाएको थियो। उनी दिल्लीबाट हवाई जहाजमा कसरा मैदानमा ओर्लिएका थिए। के थियो कुन्नि, राणा शासकहरू बेलायतीहरूलाई काठमाडौं छिराउन चाहँदैन थिए। तराईमा शिकार आयोजना गरेर उतैबाट फर्काउने रणनीति थियो।