कोरोना संक्रमणप्रति बेपरवाह काठमाडौं (तस्वीरहरु)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्दै थिए, "निषेधाज्ञा खुलेसँगै काठमाडौं उपत्यकाभित्रका बजारमा मानिसहरुको चहलपहल बढिरहेको छ, तर स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना नगरिंदा संक्रमितको संख्या ह्वात्तै बढेको छ।"
हुन पनि, उपत्यकामा एक साताभित्रै १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका मन्त्रालयकै तथ्यांकले देखाएको छ। उपत्यकाभित्रका तीन जिल्लामा गरी बिहीबार सक्रिय संक्रमितको संख्या १५ हजार ५८३ पुगेको छ। जसमध्ये काठमाडौं जिल्लामा मात्रै १२ हजार ४४१ सक्रिय संक्रमित छन्।
प्रवक्ता गौतमले भने झैं कोरोना संक्रमण जोखिमका बीच उपत्यकाका सार्वजनिक स्थानहरुमा भीडभाड बढेको छ। यही बेला दशैंको किनमेल गर्न बजारमा चहलपहल बाक्लिंदै गएको छ।
स्वास्थ्य मन्त्रालयले उपत्यकाभित्र बढ्दो संक्रमण जोखिममा स्वास्थ्य सुरक्षाका लागि भीडभाड नगर्न, भौतिक दूरी कायम गर्न र सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ।
तर, सामान्य अवस्थामा झैं बजारमा निर्धक्क निस्किएका सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको देखिएको छैन।
संक्रमणबाट जोगिन भौतिक दूरी आवश्यक भए पनि मानिसहरु बेपरवाह हुँदा बजारमा सामान्य अवस्थामा झैं भीडभाड छ भने आफ्नो सुरक्षाको लागि लगाउनुपर्ने मास्क प्रयोगमा पनि लापरवाही देखिन्छ। कतिपय मास्क नलगाई बजारमा निस्किने गरेका छन् भने लगाउनेहरुले पनि तरिका पुर्याउने गरेका छैनन्।
यो अवस्थामा स्वास्थ्य मन्त्रालयले आशंका गरे झैं संक्रमणको जोखिम डरलाग्दो गरी बढेको छ।