साहित्यमा नोबेल पुरस्कार विजेता लुइस ग्लुक: इच्छा, आघात र प्रकृतिको बयान
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकले पाउने भएकी छिन्।
स्वीडिस एकेडेमीले 'ग्लिकको काव्यिक आवाज विशिष्ट हुने र त्यसले सादगीयुक्त सुन्दरताले व्यक्तिगत अस्तित्वलाई सार्वलौकिक बनाउने' भन्दै सन् २०२० को नोबेल पुरस्कार दिने घोषणा गरेको हो।
७७ वर्षीया ग्लुकलाई फोन मार्फत पुरस्कारबारे जानकारी दिंदा उनी आश्चर्यचकित भएको एकेडेमीले जनाएको छ।
ग्लुकको जन्म न्यूयोर्कमा २२ अप्रिल १९४३ मा भएको थियो। अमेरिकाको म्यासेच्युसेट्स शहरमा बस्ने उनी अहिले येल विश्वविद्यालयमा अंग्रेजीको प्राध्यापक छिन्।
सन् २०१० यता साहित्यमा नोबेल पुरस्कार पाउने उनी चौथो महिला हुन्। नोबेल पुरस्कारको शुरुआत भएको सन् १९०१ यता भने उनी यो सम्मान पाउने १६औं महिला बनेकी छिन्। पछिल्लो पटक सन् १९९३ मा अमेरिकी लेखक टोनी मरिसनले साहित्यतर्फको नोबेल पुरस्कार पाएकी थिइन्।
ग्लुकले सन् १९९३ मा कविताकृति 'द वाइल्ड आइरिश' (१९९२) का लागि पुलित्जर पुरस्कार पाएकी थिइन्। यस्तै, सन् २०१४ मा उनी नेशनल बुक अवार्डबाट सम्मानित भइन्।
ग्लुकका कविताहरुमा मानवीय पीडा, बालापन, पारिवारिक पृष्ठभूमि र त्यसको जटिलताको बयान भेटिन्छ। उनका कविता इच्छा, आघात र प्रकृतिको उज्यालो पाटोमा केन्द्रित देखिन्छन्। यी बृहत् विषयको खोजमा उनका कविता उदासी र एकान्तिकताबारे स्पष्ट अभिव्यक्तिका लागि परिचित छन्। आफ्ना रचनाहरुमा उनी ग्रीक पौराणिक कथाहरु र त्यसका पात्रहरु पनि टिप्छिन्।
स्वीडिस एकेडेमीले ग्लुकको सन् २००६ मा प्रकाशित संग्रह 'एवर्नो' उत्कृष्ट रहेको बताएको छ।
नोबेल पुरस्कार कमिटीका अध्यक्ष एन्ड्रस अल्सनले ग्लुकको तारिफ गर्दै भनेका छन्, 'उनी स्पष्टवादी छिन् र सम्झौता नगर्ने गुण छ, जसले उनका रचनाहरुलाई अझ सुन्दर बनाउँछ।'