रहेनन् भारतका केन्द्रीय मन्त्री रामविलास पासवान
भारतीय केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ।
केही समयअघि मात्रै मुटुको शल्यक्रिया गराएका पासवानको दिल्लीस्थित फोर्टिस एस्कर्ट्स अस्पतालमा बिहीबार साँझ निधन भएको हो।
पासवान विगत पाँच दशकदेखि भारतीय राजनीतिमा सक्रिय थिए। बिहारबाट राजनीतिमा उदाएका उनी दलित नेता थिए।
उनी नरेन्द्र मोदीको सरकारमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए। प्रधानमन्त्री मोदीले उनको निधनमा ट्वीट मार्फत शोक व्यक्त गर्दै यो आफ्नो लागि व्यक्तिगत नोक्सान भएको र आफूले एक मित्र र सहकर्मीलाई गुमाएको उल्लेख गरेका छन्।
पासवान सन् २००० मा स्थापना भएको लोक जनशक्ति पार्टीका संस्थापक अध्यक्ष थिए। १९ वर्ष पार्टीको नेतृत्व गरेका उनले गएको वर्षको नोभेम्बरमा पदबाट राजीनामा दिएर आफ्ना छोरा विधायक चिराग पासवानलाई नयाँ अध्यक्ष बनाएका थिए।