ध्वनि प्रदूषणसहित सामाजिक समस्या बढेको भन्दै रौतहटमा साउन्ड सिस्टममाथि प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय रौतहटले साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ। जिल्लाको धार्मिक, सामाजिक, राजनीतिक कार्यक्रमहरुमा अत्यधिक चर्को आवाज निकाल्ने डिजे साउन्ड सिस्टमको प्रयोग बढिरहेको सन्दर्भमा जिल्ला सुरक्षा समिति तथा जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रौतहटले यसको प्रयोगमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरेको थियो।
चर्को स्वरमा साउन्ड सिस्टम चलाउँदा ध्वनि प्रदूषण हुने, स्वास्थ्यमा समस्या आउने, शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल प्रभाव परी विभिन्न दुर्घटना समेत भएको तथ्यलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय रौतहटले प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
साउन्ड सिस्टमको प्रयोगबारे जिल्लाको विभिन्न भागमा विरोध हुँदै आएको थियो। साउन्ड सिस्टममा अश्लील गीत गाउने तथा भड्किलो नृत्य गर्ने भएकाले पनि विरोध हुँदै आएको हो।
दुर्गापूजा, विश्वकर्मा पूजा, सरस्वती पूजा तथा महायज्ञ संचालन गरिंदा तथा विवाह, छठियार तथा अन्य मांगलिक कार्यमा कैयौं दिनसम्मसाउन्ड सिस्टमको प्रयोग गर्ने चलन बढेको थियो।
दुर्गा भगवती गाउँपालिकाका युवा चञ्चल झाले जनस्वास्थ्य र सामाजिक सद्भावको दृष्टिकोणले यो निर्णय निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए। डिजेको चर्को आवाजले बालबालिका तथा विभिन्न किसिमका बिरामीलाई नकारात्मक असर पार्ने गरेको पनि झाको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयको आदेशको बर्खिलाप गरिएको पाइए त्यस्ता साउन्ड सिस्टम जफत गरी कानून बमोजिम कारबाही गरिने प्रजिअ यादवले बताएका छन्।