प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल कोरोना संक्रमणमुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमणमुक्त भएका छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जानकारी गराएका छन्।
रिमालले दोस्रोपटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको उल्लेख गरेका छन्। उनले कोरोना केही होइन भन्नु गलत रहेको बताएका छन्।
“मेरो अनुभवले भन्छ– कोरोना केही होइन भन्नु अतिरञ्जना हो। र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो”, रिमालले लेखेका छन्, “तरिका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ। लापरवाहीमा ज्यानै जान्छ। त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ। दोश्रो, संक्रमितको उच्च मनोवल र तेश्रो धैर्यताको माग गर्छ।”
रिमालले चिकित्सक र स्वास्थ्यकर्मीहरूको सुझाव पालना गर्न अपील गरेका छन्।
रिमाललाई १७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यो दिन प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो।