यस्तो छ सप्तरीको सामूहिक बलात्कारपछि आत्महत्या घटनामा १४ जनामाथि अदालतमा लगाइएको अभियोग
सरकारी वकीलको कार्यालय सप्तरीले नाबालिकालाई बलात्कार गर्ने दुई जना र त्यसलाई गाउँमै मिलाउने १२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। २९ भदौमा डाक्नेश्वरी नगरपालिका-७ पिपरामा राम र श्याम (१८ वर्षमुनिको भएकाले नाम परिवर्तन गरिएको)ले सोही ठाउँकी फूलमाया (परिवर्तित नाम)लाई बलात्कार गरेका थिए।
त्यसपछि गाउँमा पञ्चायत बसेर फूलमायाका परिवारलाई प्रहरीसमक्ष पुग्न नदिइ बलात्कारीबाट २५/२५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेका थिए। यस्तो निर्णयप्रति असन्तुष्ट रहेकी पीडित फूलमायाले न्याय पाउने बाटो बन्द गरिएको भन्दै आत्महत्या गरेकी थिइन्।
यो घटनामा जिल्ला सरकारी वकील कार्यालयले राम र श्यामलाई तीन वटा अभियोग लगाएको छ र त्यसमा एकमुष्ट सजाय माग गरेको छ। बलात्कार गरेकोमा सात वर्षदेखि १० वर्षसम्मको कैद, त्यस्तो अपराध सामूहिक रूपमा गरेकाले थप पाँच वर्षसम्म कैद, आत्महत्या दुरूत्साहनमा पाँच वर्ष कैद र ५० हजार जरिवाना तथा प्रहरीलाई आफूमाथि भएको अपराधको सूचना दिन फूलमायालाई रोकेकोमा दुई वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवाना मागिएको छ।
यद्यपि, दुवै जना बालक रहेका (१५ वर्ष) कारण उनीहरूलाई ठहर भएको सजायको आधा सजाय मात्र हुनेछ। त्यस्तै विष्णु मण्डल र धर्मदेव मण्डलसमेत गरी चार जनाको सामूहिक बलात्कारको प्रयास गरेकोमा विष्णु र धर्मदेवले बलात्कार नगर्दै फूलमाया उम्किएकी थिइन्।
त्यसैले उनीहरूलाई भने मतियारका रूपमा मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय माग गरिएको छ। त्यसैगरी गाउँमा अगुवाको रूपमा शत्रुधन मण्डल, उचितलाल भन्ने उजितलाल मण्डल, झमेली मण्डल, रामजी भन्ने बेचन मण्डल, बंशराज मण्डल, विदेश्वर मण्डल, सत्यनारायण मण्डल, जयकान्त मण्डल, देवु मण्डल र वासुदेव मण्डलले बलात्कारको यस घटनालाई प्रहरीसमक्ष पुग्न रोकेर गाउँमै मिलाउन भूमिका खेलेका थिए।
पीडितलाई समेत जबरजस्ती शत्रुघन मण्डलको घरमा लगेर शारीरिक परीक्षण गर्न जान र प्रहरीमा सूचना दिन जान रोकेका थिए। साथै बलात्कार गरेका दुई जनाबाट २५/२५ हजार रूपैयाँ क्षतिपूर्ति तिराउने निर्णय गरेका थिए। त्यसपछि ३० भदौको राति करीब साढे दुई बजेतिर पीडित फूलमायाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन्।
सरकारी वकीलको कार्यालयले यी १० जनालाई आत्महत्या दुरूत्साहन र अपराधको सूचना प्रहरीलाई दिन अवरोध गरेको अभियोग लगाएको छ। उनीहरूलाई आत्महत्या दुरूत्साहनमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना तथा अपराधको सूचना प्रहरीलाई दिन अवरोध गरेकोमा थप २ वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ।