स्वास्थ्य मन्त्रालय भन्छ- उपत्यकाका अस्पतालमा १११ बेडको आईसीयू र ५५ भेन्टिलेटर खाली छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार उपत्यकाका अस्पतालहरूमा १११ बेड आईसीयू र ५५ भेन्टिलेटर खाली छन्।
स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार उपत्यकाका सरकारी अस्पतालमा १२१ र निजीमा ७२ बेडको आईसीयू बेड भएकामा कुल ८२ बेडमा मात्र कोरोना संक्रमितको उपचार भइरहेको छ।
यस्तै, उपत्यकाका सरकारी अस्पतालमा ५४ र निजीमा २८ भेन्टिलेटरसहितको बेड भएकामा २७ बेडमा मात्र कोरोनाका सिकिस्त बिरामीको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गएको सोमबार काठमाडौंको बाजालुका एक जना ७० वर्षीय कोरोना संक्रमित पुरुषको भेन्टिलेटरको सहायतामा उपचार सेवा पाउन नसकेका कारण ज्यान गएको थियो।
उनका आफन्तले उपत्यकाका सशस्त्र, आर्मी, वीर, टिचिङ पाटन लगायतका अस्पतालमा भेन्टिलेटरसहितको बेड खोजेका थिए। तर, संक्रमितको उपचारले भरिएका कारण उनीहरूले भेन्टिलेटरसहितको खाली बेड नपाएका कारण आफन्त गुमाउनु परेको बताएका थिए।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी समन्वय र व्यवस्थापनको अभावले भेन्टिलेटर र आईसीयू बेडको अभाव भएको भन्ने कुरा बाहिरिएको हुनसक्ने बताउँछन्।
“मन्त्रालयले उपत्यकाका निजी र सरकारी अस्पतालहरूलाई आईसीयू बेड र भेन्टिलेटरको क्षमता र त्यहाँ उपचाररत बिरामीको विववरण मागेका थियौँ”, डा. अधिकारी भन्छन्, “यस अनुसार निजी अस्पतालमा बढी आईसीयू र भेन्टिलेटर उपलब्ध भएको देखियो।”
उनका अनसार धेरैजसो कोरोनाको उपचार नहुने उपत्यकाका निजी अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर उपलब्ध भएको पाइएको छ। तर, सबैजसो सरकारी अस्पतालमा भने आईसीयू र भेन्टिलेटर कोरोना संक्रमितले भरिएको डा. अधिकारी बताउँछन्।
टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला सरकारले देशभरका अस्पतालमा भएका भेन्टिलेटर र आईसीयू बेड खोजी गर्नुपर्ने र अभाव देखिएका ठाउँमा पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने बताउँछन्।