कोरोना अपडेट : उपत्यकाका यी स्थानमा छन् धेरै संक्रमित ? (हेर्नुहोस् नक्शामा)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा मात्रै देशभर ४ हजार ३६४ संक्रमित थपिएका छन्। एकै दिन थपिएका ४ हजार ३६४ संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ छन्।
बिहीबारसम्म मुलुकभर कोरोना सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ र मृत्यु हुनेहरुको संख्या ५९० पुगेको छ। पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण उच्च दरमा बढिरहेको देखिन्छ। स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या १२ हजार ४४१ छ। यो देशभर भएका कुल संक्रमितको संख्या भन्दा झण्डै आधा हो।
यस्तै, सक्रिय संक्रमितको संख्या भक्तपुरमा १ हजार १२६ र ललितपुरमा २ हजार १६ छ। उपत्यकाका विभिन्न ठाउँ अनुसार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले नक्शामा राखेको तथ्यांक अनुसार महाराजगञ्ज, बालाजु, लैनचौर, ठमेल, बागबजार, नयाँ बानेश्वर, कालीमाटी, जडिबुटी, हाँडीगाउँ, बौद्ध, टेकु, थापागाउँ लगायतका क्षेत्रमा एकै ठाउँ धेरै कोरोना संक्रमित रहेका छन्।
यस्तै, कलंकी, कोटेश्वर, पुलचोक, सिनामंगल, चाबहिल, नारायण टोल, नयाँ बजार, बन्सतपुर दबार स्क्वायर लगायतका क्षेत्रमा पनि कोरोना संक्रमितको संख्या धेरै रहेको सीसीएमसीको नक्शामा देखिन्छ। सीसीएमसीले करीब एक हप्ताअघि उपत्यकामा भएका संक्रमतिको आधारमा यो नक्शा तयार पारेको हो।
काठमाडौं महानगरपालिकाको २२ असोजसम्मको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा महाराजगञ्ज क्षेत्र पर्ने वडा–३ मा १४, त्रिपुरेश्वर क्षेत्र पर्ने वडा–११ मा १५, कालीमाटी क्षेत्र पर्ने वडा–१३ मा १५ मा जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार काठमाडौ महानरगरको कलंकी र बल्खु क्षेत्र पर्ने वडा–१४ मा १४, शान्तिनगर क्षेत्र पर्ने वडा–३१ मा २५ र कोटेश्वर र जडिबुटी क्षेत्र पर्ने वडा–३२ मा ११ जना कोरोना संक्रमित थपिएका छन्। यी ठाउँहरू काठमाडौं महानगरका धेरै कोरोना संक्रमित भेटिने हटस्पटका रूपमा चिनिन्छन्। यो वडा कार्यालयहरूले काठमाडौं महानगरलाई बुझाएको तथ्यांक हो।
काठमाडौं महानगरका अनुसार बिहीबारसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४४७ पुगेको छ। टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला मुलुकमा पछिल्ला दिनमा कोरोना संक्तमितको संख्या बढे्सँँगै रोकथाममै ध्यान दिनुपर्ने बताउँछन्।
डा. बास्तोलले संक्रमण दर बढेसँगै कोरोनाका सिकिस्त बिरामीलाई अस्पताल पुर्याएर भर्ना गर्न सक्ने अवस्था नरहेको बताउँछन्। उनी बाहिरी वातावरणमा निस्कने व्यक्तिले स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण जोखिम बढेको बताउँछन्।
“चिसो मौसममा संक्रमण र सिकिस्त बिरामीहरू झनै बढ्नेछन्,” डा. बास्तोला भन्छन्, “त्यसैले आउने दिनहरू थप चुनौतीपूर्ण छन्।”