डा. केसीको जीवन रक्षा गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ। राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको बैठकले डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो।
बिहीबार बसेको बैठकले केसीको जीवन रक्षाको पहल गर्न सरकारसँग माग गरेको राप्रपाले जनाएको छ। निर्वाच आयोगमा पार्टी दर्ता भएपछि बसेको बैठकले २९ असोजसम्म जिल्लाको पार्टी समायोजनको काम अघि बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने लगायतका निर्णय पनि गरेको छ।
अध्यक्ष कमल थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तीव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत बताएका छन्।राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्वर्द्धनवाद’को वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले बताएका छन्।
आगामी निर्वाचनसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने समेत अध्यक्ष थापाले उल्लेख गरेका छन्।