उपत्यकामा कोरोना संक्रमण: तीन जिल्लामा कहाँ कति सक्रिय संक्रमित ?
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकाका मात्रै २ हजार ५४० जना छन्। जसमध्ये पुरुषको संख्या १ हजार ५४८ छ भने ९९२ जना महिला छन्।
बिहीबारसम्म पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका सात जिल्लामध्ये उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर पनि परेका छन्। उपत्यकाभित्र सक्रिय संक्रमितको संख्या १५ हजार ५८३ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौं जिल्लामा १२ हजार ४४१ छन् भने ललितपुरमा २ हजार १६ र भक्तपुरमा १ हजार १२६ जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ३८७ पुगिसकेकोमा हालसम्म १६ हजार ८२२ जना निको भएका छन् भने १२४ जनाको मृत्यु भएको छ।
यस्तै, ललितपुरमा कुल संक्रमित ३ हजार ९६५ मध्ये १ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ। भक्तपुर जिल्लामा २ हजार ९३९ कुन संक्रमितमध्ये १ हजार ७८८ जना निको भएका छन्। त्यहाँ २५ जना संक्रमितको ज्यान गइसकेको छ।
उपत्यकामा कोरोनाका बिरामीमध्ये विभिन्न अस्पतालमा ८२ जना आईसीयूमा उपचाररत छन् भने २७ जना भेन्टिलेटरमा अक्सिजनको सहारामा छन्। उपत्यकामा सरकारी अस्पतालका १२१ र निजीमा ७२ गरी १९३ वटा आईसीयू बेड छन् भने भेन्टिलेटर सरकारी ५४ र निजी २८ गरी ८२ वटा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले काठमाडौं उपत्यकामा एक साताभित्रै १० हजारभन्दा बढी कोरोना संक्रमित देखिएको बताएको छ। मन्त्रालयका अनुसार, निषेधाज्ञा खुलेसँगै उपत्यकाभित्रका बजारमा मानिसहरुको चहलपहल बढिरहेको तर स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना नगरिंदा संक्रमितको संख्या ह्वात्तै बढेको छ।