काठमाडौं उपत्यकामा थपिए २५४० जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये पुरुष १ हजार ५४८ छन् भने ९९२ जना महिला छन्।
यससँगै आज देशभर कुल ४ हजार ३६४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना कोरोना संक्रमित भेटिएका छन्।
मन्त्रालयका अनुसार, हाल मुलुकमा कोरोनाको सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ।
मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा एक साताभित्रै १० हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। निषेधाज्ञा खुलेसँगै उपत्यकाभित्रका बजारमा मानिसहरुको चहलपहल बढिरहेको तर स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना नगरिंदा संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयले जनाएको छ।