एकै दिन अहिलेसम्मकै धेरै ४३६४ जनामा कोरोना संक्रमण, २६७५ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टायता आजसम्मकै सबैभन्दा धेरै ४ हजार ३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज थपिएका संक्रमितसँगै मुलुकमा हालसम्म कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज निको हुनेको संख्या भने २ हजार ६७५ छ। आजसम्म ७१ हजार ३४३ संक्रमित निको भइसकेका छन्।
आज थपिएका संक्रमितसँगै मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना उपचाररत छन् भने होम आइसोलेसनमा बस्नेको संख्या १४ हजार ९६७ छ।
५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला सात छन्। जसमा काठमाडौं उपत्यकाका तीन जिल्ला, मोरङ, सुनसरी, चितवन र रुपन्देही छन्। यस्तै, शून्य संक्रमित रहेका जिल्ला मनाङ र मुस्ताङ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा गरी १२ जनाको मृत्यु भएको छ।