कंक्रिटको विकल्पमा प्लास्टिकका ह्यूमपाइप
देशभित्रै प्लास्टिकका ह्यूमपाइपको उत्पादन शुरू भएसँगै वर्षौंदेखि प्रयोगमा आइरहेको आरसीसी ह्यूमपाइपको विकल्प मिलेको छ। गह्रौं भएकैले खर्चिलो र असहज हुँदा विशेषगरी पहाडी बाटोमा पानीको निकासमा उपयोगी हुन नसकेको कंक्रिटको साटो प्लास्टिक ह्यूमपाइपको प्रयोगसँगै पहिरो लगायतबाट हुने सडकको क्षति कम हुनसक्छ।
सडक विभागका अनुसार गएको असारदेखि यही २० असोज २०७७ सम्म बाढी र पहिरोका कारण राष्ट्रिय राजमार्ग मात्रै २५३ पटक अवरुद्ध भयो। सडक अवरुद्ध हुनुको प्रमुख कारण पानीको निकास नहुँदा वर्षातको भेल थेग्न नसकेर निम्तिने पहिरो नै हो।
सरकारको निगरानी पुग्ने, नियमित मर्मत भइरहेका र प्राथमिकताको क्षेत्रमा परेको राष्ट्रिय राजमार्ग त पटकपटक अवरोध हुने गरेका छन् भने पहाडी बाटोमा हुने क्षति र अवरोध आकलन नै गर्न नसकिने सडक विभागका महानिर्देशक ई.केशवकुमार शर्मा बताउँछन्। शर्माका अनुसार पहाडी बाटोमा पानीको निकास दिन नसक्ने, कच्ची बाटो नाघ्ने गरी वर्षात आउने बाढी र ठूलो भेल थाम्न नसक्दा पनि सडक बिग्रने गरेको छ।
सडक बनिसकेपछि उचित निकास दिन नसक्दा र खोल्साखोल्सीबाट आउने भेलका कारण निर्माण भएका नयाँ सडक समेत वर्षेनि बिग्रने गरेका छन्। देशैभर निर्माण भएका ८५ हजार किलोमिटर सडकमध्ये विभागले जम्मा १५ हजार किमिको राष्ट्रिय राजमार्ग मात्रै हेर्ने गरेको छ भने बाँकी स्थानीय तह र प्रदेश सरकार मातहतमा छन्।
राष्ट्रिय राजमार्गको तुलनामा स्थानीय सडक बढी बिग्रन्छन् भने तिनकै मर्मतसम्भार पनि कम हुने गरेको छ। देशभर निर्माण भएका सडकमध्ये ६० प्रतिशत कच्ची सडक वर्षाको पानी तह लगाउन नसक्दा र उचित पानीको व्यवस्थापन नहुँदा बिग्रने गरेका छन्। नयाँ सडक भने सिमेन्टको ह्यूमपाइप राख्न नसक्दा वा त्यसको बलियो विकल्प नखोज्दा बिग्रने गरेका हुन्छन्।
महानिर्देशक शर्माका अनुसार पहाडी भूभागमा बन्ने सडकका लागि आरसीसी (कंक्रिटका) ह्यूमपाइप सहजै पुर्याउन नसकिने र पुर्याउँदा पनि लागत बढी पर्न गएर खर्चिलो हुने गरेको छ। परिणाम; सिमेन्ट ढुंगाबाट बनेका सामान्य नाला वा निकासहरूमार्फत् सडक निर्माण हुँदै आएको छ। जुन वर्षेनि वर्षातबाट क्षतिग्रस्त हुने गरेको छ।
सडक विभागकै प्रवक्ता ई.शिवहरि सापकोटा पहाडी बाटो त्यसमा पनि अध्ययन र डिजाइन विना नै डोजर ड्राइभरका भरमा बन्ने बाटो अझै जोखिमपूर्ण हुने गरेको बताउँछन्। यस्तो बाटो निर्माण गरेर छोडिने, ढलको व्यवस्था नगर्ने र पानीको निकास नदिंदा वर्षेनि पहिरोको जोखिम बढाइरहेको छ। साथै, निर्माण भएको सडकमा पानीको निकास नदिएकै कारण सडक पनि नराम्रोसँग बिग्रने गरेको छ। प्रवक्ता सापकोटा भन्छन्, “पानीको निकास दिन नसक्दा राजमार्ग पनि बिग्रने गरेका छन्। यसको तुलनामा डीपीआरमा नभएका र विना अध्ययन बनेका सडकले झन् बढी जोखिम निम्त्याइरहेका छन्।”
सडक विभागले नै अध्ययन गरेर बनाएका सडक पनि उचित निकासको अभावमा क्षति हुने गरेको उदाहरण हरेक वर्ष वर्षातमा बिग्रने सडकको स्वरूपले देखाउने गरेको छ। यस्तो अवस्थामा कंक्रिट ह्यूमपाइपको विकल्प प्रयोगमा नआउँदासम्म पहाडी भूभागमा बन्ने सडकलगायतका संरचनाहरू कमजोर र महँगो हुने निश्चित छ।
विशेषगरी गाडी पुगिनसकेका पहाडी क्षेत्रमा सिमेन्टका गह्रौं ह्यूमपाइप बोकेर जान नसक्ने र पाइप पुर्याइए पनि राख्न नसकिएको अवस्थामा प्लास्टिकको पाइप उचित विकल्प हुनसक्छ। तर संसारभर नै कंक्रिटको साटो प्लास्टिक ह्यूमपाइपको प्रयोग बढेको भए पनि उचित मापदण्डको अभावमा सरकारले यसको प्रयोगको निर्देशन दिनसकेको छैन। जसका कारण सडक विभागले यसलाई हालसम्म उपयोगमा ल्याउन सकेको छैन। छिटो, छरितो र प्रयोग गर्न सहज छ भन्ने जान्दाजान्दै पनि प्लास्टिक ह्यूमपाइप सडकमा प्रयोग गर्न भने नसकिएको शर्मा स्वीकार्छन्।
खानेपानी तथा ढल निकासमा सीमित
झण्डै ४० वर्षअघि जर्मनीमा विकसित प्लास्टिकको ह्यूमपाइप पछिल्ला दिनमा कंक्रिट ह्यूमपाइपको विकल्प बन्न थालेको छ। भारतले गंगा नदीको सरसफाइको क्रममा बनाएका ढल इत्यादिमा यसको प्रयोग गरेपछि विगत सात वर्षयता त्यहाँ यसको प्रयोग व्यापक बन्दै गएको छ।
अन्तर्राष्ट्रियस्तरमा बढ्दो प्रयोगमा रहेको यो पाइपको उपयोग नेपालमा हुँदै नभएको भने होइन। विगत एक वर्षदेखि खानेपानी र ढल निकासमा यो पाइपको प्रयोग भइरहेको छ। खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनालगायतले यसको प्रयोग गरिरहेका छन्।
काठमाडौं उपत्यकाभित्रकै स्थानीय तहहरूले पनि खानेपानी तथा ढलको लागि प्लास्टिक पाइपको प्रयोग गरिरहेका छन्। हालै मात्र ललितपुरको लगनखेलदेखि शंखमूलसम्मको ढल निकास, झापा दमकको खानेपानी आयोजना आदिमा यो पाइप प्रयोग भएको छ।
“परम्परागत रूपमा प्रयोग हुँदै आएको आरसीसी ह्यूमपाइपको तुलनामा सस्तो, सजिलो, सहज र लामो समय टिक्ने ग्यारेन्टीका साथ यसको निर्माण गरिएको छ। हामीले यसखाले पाइप बनाउन थालेसँगै विस्तारै यसको माग पनि बढिरहेको छ।” - राजेश भट्टराई, उपनिर्देशक, हिलटेक इण्डष्ट्रिज
लामो समयदेखि प्रयोग हुँदै आएको कंक्रिटयुक्त आरसीसी ह्यूमपाइपलाई आधुनिक प्रविधिमार्फत उत्पादन हुन थालेको प्लास्टिक पाइपले विस्थापन गर्न थालेको छ। पानीट्यांकी, रोड डिभाइडरलगायत प्लास्टिकका उत्पादन बनाउँदै आएको हिलटेक इण्डष्ट्रिज प्रालिले देशभित्रै हिलटेक कोरफिट डबल वाल कोरोगेटेड (डीडब्ल्युसी) पाइपको उत्पादन शुरू गरेपछि विगत एक वर्षयता कतिपय संरचनामा कंक्रिटको साटो प्लास्टिक ह्यूमपाइपको प्रयोग बढेको हो।
हिलटेक इण्डष्ट्रिजका उपनिर्देशक राजेश भट्टराईका अनुसार डीडब्ल्युसी पाइप सडक, रेलमार्ग र धावनमार्ग आदिको निर्माणमा प्रयोग गर्न सकिन्छ। भट्टराई भन्छन्, “परम्परागत रूपमा प्रयोग हुँदै आएको आरसीसी ह्यूमपाइपको तुलनामा सस्तो, सजिलो, सहज र लामो समय टिक्ने ग्यारेन्टीका साथ यसको निर्माण गरिएको छ। हामीले यसखाले पाइप बनाउन थालेसँगै विस्तारै यसको माग पनि बढिरहेको छ।”
न्यूनतम एक फिटको गहिराइमा राख्न सकिने यो पाइपले त्यति गहिराइमा २४ टन भार धान्छ भने तीन फिटको गहिराइमा राख्दा ६० टन भार धान्ने हिलटेकका उपनिर्देशक भट्टराई बताउँछन्। उनका अनुसार जति गहिराइमा राख्यो उति नै बढी भार धान्ने क्षमता यसको हुन्छ। खानेपानी, नहर, ढल निकास, सडक, रेलमार्ग, धावनमार्ग निर्माणमा सजिलै प्रयोग गर्न सकिन्छ।
आफूले उत्पादन गरेको ६ मिटर लामो डीडब्ल्युसी पाइप आरसीसी ह्यूमपाइपको तुलनामा ९५ प्रतिशत हलुका, ८० वर्ष बढी टिकाउ क्षमता रहेको दाबी हिलटेकको छ। ४ इन्चदेखि ४० इन्चको व्याससम्ममा उपलब्ध यी पाइपको मूल्य भने रु.५०० देखि रु.१९ हजार ४०० सम्म रहेको छ।
पहाडी बाटोमा होस् वा शहरभित्रैको अन्य कुनै ठूला पानी निकास जोडिएको परियोजना — वजनदार कंक्रिट पाइपको विकल्पमा सहजै प्लास्टिकको पाइप प्रयोगमा आउने देखिन्छ। खानेपानी र ढल निकासमा प्रयोग भइरहेको यो पाइप सडकमा पनि प्रयोग गर्ने विषयमा आवश्यक गृहकार्य भइरहेको छ। स्थानीय तथा प्रदेश सरकारले प्रयोग गर्न थालिसकेको भए पनि सडकमा अझै प्रयोग हुन बाँकी नै छ। निजी क्षेत्रले बनाउने ढल निकाससहित ठूलो पाइप आवश्यक हुने स्थानमा पनि यसको प्रयोग हुन थालेको छ।
सडक विभागका महानिर्देशक शर्मा कंक्रिट जस्तै बलियो र दीर्घकालीन प्रयोगका लागि उपयोग गर्न सकिने भए पनि सडक निर्माणमा प्लास्टिकका पाइप प्रयोगमा ल्याउन नसकिएको स्वीकार्छन्। उनी भन्छन्, “प्रयोग गर्न सहज, हल्का भएकाले आरसीसी ह्यूमपाइपको विकल्प प्लास्टिक पाइप हुनसक्छ भनेर अध्ययन शुरू भएको छ। यसका लागि पाइप निर्माण कम्पनीलाई प्रस्तुतीकरण दिने र यसको प्रभावकारिताबारे जानकारी दिन आग्रह गरिएको छ।”