शेयर बजारमा दोहोरो अंकको गिरावट
कारोबार हुने साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से ११.३४ अंकले घटेको छ। बुधबार करीब १४ अंकले बढेको नेप्से परिसूचक बिहीबार ओरालो झरेर १ हजार ५९० विन्दुको हाराहारीमा ओर्लिएको छ।
आजको कारोबारमा वित्त, लघुवित्त र म्युचुअल फण्ड बाहेक अरु सबै समूहका परिसूचक घटेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह ३.०८ प्रतिशतले घटेको छ। पछिल्ला दिनहरुमा जलविद्युत् समूहका शेयरको कारोबार उच्च गतिमा भइरहेको छ। छिटोछिटो नाफा बुक गरेर बाहिरिने लगानीकर्ताको प्रवृत्तिका कारण जलविद्युत् समूहका शेयरको मूल्यमा पनि उतारचढाव आइरहेको छ।
यस्तै, ब्यांकिङ समूह ०.६८ प्रतिशतले घटेको छ। यद्यपि, वित्त समूह भने सर्वाधिक ३.९१ प्रतिशतले बढेको छ।
बिहीबार ४९ कम्पनीका लगानीकर्ताले नाफा कमाए भने ११३ कम्पनीका लगानीकर्ताले गुमाए। पाँच कम्पनीको शेयर मूल्य यथावत रह्यो। सबैभन्दा धेरै सिनर्जी पावर विकास कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशत घाटा बेहोरे। त्यसैगरी, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ६.८६ प्रतिशत घाटा बेहोरे। लिबर्टी इनर्जी, रसुवागढी जलविद्युत्, अरुण काबेली पावर लगायत जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि घाटा बेहोरे।
आजको कारोबारमा सबैभन्दा धेरै मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। त्यस्तै, कर्णाली विकास ब्यांक, समृद्धि फाइनान्सका लगानीकर्ताले पनि झण्डै १० प्रतिशत हाराहारीमा नाफा कमाए।
बिहीबार रु. २ अर्ब ८८ करोड मूल्यका १ करोड १० लाख कित्ता शेयरको किनबेच भएको छ।