पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे ओली-दाहालबीच छलफल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बिहीबार करीब ३ घण्टा बढी छलफल भयो।
छलफलमा पार्टी एकताका बाँकी कामलाई छिट्टै टुंग्याउनेबारे दुई अध्यक्षबीच कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ।छलफललाई निरन्तरता दिने भनिएको छ। यद्यपि, भोलि छलफल हुने/नहुने केही तय गरिएको छैन।
६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले १० दिनभित्र एकताका बाँकी काम सक्नेगरी सचिवालय प्रस्ताव पेश गर्न अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो। तर, अहिलेसम्म कुनै खाका सचिवालयमा प्रस्तुत गरिएको छैन। २० असोज पनि सचिवालय बैठक बसेको थियो।
दुई अध्यक्षबीच आज मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुनै छलफल नभएको दाहालको सचिवालयले जनाएको छ। ६ असोजकै सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो। तर, त्यसयता यही विषयमा दुई अध्ययक्षबीच पटक पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो। अहिलेसम्म पनि एकताका केही काम बाँकी छन् भने विभागहरूले समेत पूर्णता पाएका छैनन्।