यसरी गरौं बालबालिकामा पठन संस्कृतिको विकास
बालबालिकालाई सर्वप्रथम शिक्षकले नै अतिरिक्त पुस्तक पढ्न प्रेरित गर्नुपर्छ। तर, आफ्नै स्कूले जीवनमा अतिरिक्त पुस्तक पढ्न नपाएका बहुसंख्यक शिक्षक आफ्ना विद्यार्थीले त्यसो गरे पढाइमा बाधा पर्ने ठान्छन्। यस्तै बुझाइ अधिकांश अभिभावकहरुमा पनि छ।
विराटनगरको सुम्निमा टोल विकास संस्थाका टोलवासीले गएको वर्ष स्थानीय विद्यालय (जहाँ म कार्यरत छु) को व्यवस्थापन र समन्वयमा पुस्तकालय स्थापना गरे। टोलका बालबालिकालाई पुस्तकप्रेमी बनाउन स्थापना गरिएको ‘विराट सामुदायिक पुस्तकालय’ अहिले कोरोनाका कारण बन्दप्रायः छ।
स्थानीयहरु मिलेर सञ्चालन गरेको पुस्तकालयमा बालबालिकाले साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप पनि गर्थे। चित्रकारिता, उद्घोषणकला, घरायसी फोहोर छुट्याउने सीप, गीत गाउने, नृत्य सिक्ने जस्ता क्रियाकलापले उनीहरुको क्षमता विकास भइरहेको थियो। तर, बन्दाबन्दीमा ६ महीना उनीहरु घरै बस्न बाध्य भए। पुस्तक साटासाट गरेर पढ्दा पनि कोरोनाभाइरस सर्छ भन्ने सुनेका उनीहरु त्यसो गर्न पनि डराए।
गएको २९ भदौमा राष्ट्रिय बाल दिवसको दिनदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी साँझ ४ देखि ५ बजेसम्म झन्डै ५० बालबालिका पुस्तक लिन आउन थालेका छन्। क्याम्पस र छिमेकी विद्यालयमा पढ्ने तीनजना स्वयंसेवी विद्यार्थीलाई एक घन्टा पुस्तक वितरण गर्न भ्याइनभ्याइ हुन्छ। एक जना विद्यार्थीले आफ्नो रुचिको एउटा नेपाली र एउटा अंग्रेजी पुस्तक लान पाउने नियम भए पनि कतिपयले बढी पनि लाने गरेका छन्।
यसरी साना बालबालिकाहरुमा पठन संस्कृतिको विकास गराउन थालेको पुस्तकालयले हरेक बिहीबार पुस्तक वाचन कार्यक्रम थालेको छ। स्वास्थ्य सुरक्षाको नियम पालना गर्दै गरिने कार्यक्रममा पुस्तक वाचन गर्ने विद्यार्थीले पुरस्कार स्वरुप शैक्षिक सामग्री प्राप्त गर्छन्। यी कार्यक्रममा अभिभावकहरु पनि उपस्थित हुन्छन्।
घरमा पाठ्यपुस्तक पढ्न अल्छी मान्ने कतिपय विद्यार्थी पुस्तकालयबाट लगेका नयाँ–नयाँ पुस्तक दिनहुँ पढ्न थालेपछि अभिभावकहरु पनि दङ्ग छन्। बालचित्र कथालगायत पुस्तक पढ्न पाउँदा स–साना विद्यार्थीमा पठनसीपको विकास मात्र हुँदैन उनीहरुलाई अध्ययनशील पनि बनाउँछ। बालबालिकाहरुको व्यक्तित्व विकासमा बालपुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
आफ्ना छोराछोरीलाई पुस्तकप्रेमी बनाउन अभिभावकहरुले अतिरिक्त समय र रकम खर्चनु जरुरी छ। हुने खाने शिक्षित अभिभावकले समेत छोराछोरीको खाना र लुगामा प्रशस्त पैसा खर्च गरे पनि विद्यालयमा पढ्नुपर्ने बाहेकका बालपुस्तक किनिदिने गरेको पाइँदैन। यसो हुनुमा अभिभावकभन्दा वर्तमान शिक्षा प्रणाली दोेषी छ।
यस्तै कथावाचन गर्दा बालबालिकाहरु पात्रसँगै रमाउँछन्। मेरो १० वर्षीय नातिले सधैं पाँचवटा नेपाली र पाँचवटा अंग्रेजीको बालपुस्तक ल्याउँछ। बेलुकी खाना खाएपछि नियमितजसो श्रीमान्बाहेक सबैले पालैपालाे ती पुस्तक पढ्छौं। अंग्रेजीभन्दा पनि नेपालीका लामा लामा बालकथा पढ्न रुचाउने नाति कहिलेकाहीँ थपडी बजाउँदै रमाईरमाई पढ्छु। यस्तो देख्दा हामीलाई पनि रमाइलो लाग्छ। साथीहरुका अगाडि बोल्न धक मान्ने नाति पुस्तक वाचन कार्यक्रममा निर्धक्क वाचन गर्न थालेको छ।
आफ्ना छोराछोरीलाई पुस्तकप्रेमी बनाउन अभिभावकहरुले अतिरिक्त समय र रकम खर्चनु जरुरी छ। हुनेखाने शिक्षित अभिभावकले समेत छोराछोरीको खाना र लुगामा प्रशस्त पैसा खर्च गरे पनि विद्यालयमा पढ्नुपर्ने बाहेकका बालपुस्तक किनिदिने गरेको पाइँदैन। यसो हुनुमा अभिभावकभन्दा वर्तमान शिक्षा प्रणाली दोेषी छ।
विद्यार्थीलाई अतिरिक्त बालपुस्तक पनि उपलब्ध गराउनुपर्छ भनेर सरकारले विद्यालयहरुलाई निर्देशन गरेको देखिंदैन। पछिल्लो समय सामुदायिक विद्यालयहरुमा ‘एक विद्यालय एक पुस्तकालय’ कार्यक्रम लागू गर्न निर्देशिका जारी गरे पनि कार्यान्वयन भएको पाइँदैन। कतिपय सामुदायिक विद्यालयमा दाताको सहयोगमा पुस्तकालय स्थापना गरिएको त छ तर, सबै विद्यार्थीले त्यसको सुविधा पाएका छैनन्।
यस्तै निजी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीले पनि अतिरिक्त पुस्तक पढ्ने गरेको पाइँदैन। विशेष गरी निजी विद्यालयमा माथिल्लो कक्षाका विद्यार्थीले पुस्तकालयको सुविधा पाउँछन्। प्राथमिक तहका विद्यार्थीलाई यो सुविधाबाट वञ्चित गरेको पाइन्छ।
पुस्तकालयको सुविधा पाउने माथिल्लो कक्षाका विद्यार्थीले पनि के कस्ता पुस्तक पढ्ने गर्छन् भन्ने विषयमा न शिक्षकले चासो चिन्ता लिन्छन्, न त अभिभावकले नै सोधखोज गर्छन्। यस्तो अवस्थामा कुन उमेरका विद्यार्थीले कस्तो पुस्तक पढ्नु पर्छ भन्ने विषय नै गौण बनेको छ। यसैको परिणामस्वरुप पुस्तकप्रेमी बन्न सक्ने बहुसंख्यक विद्यार्थीहरु स्कुले शिक्षापछि अतिरिक्त पुस्तक पढ्न चाहँदैनन्।
प्राथमिक तह पढ्ने अधिकांश विद्यार्थीले सामान्य शब्द र वाक्य मात्र पढ्न सिकेका हुन्छन्। यस्तो वेला उमेर र रुचि अनुसारका चित्रकथाको पुस्तक उपलब्ध गराइदिने हो भने उनीहरुमा पढ्ने भोक जाग्छ। प्राथमिक तहमा बालपुस्तक पढ्ने अवसर पाएका विद्यार्थी माथिल्लो तह पढ्न पनि अभिप्रेरित हुन्छन्। पुस्तक पढ्ने बानीले बालबालिकालाई अध्ययनशील मात्र बनाउँदैन, उनीहरुलाई उच्चशिक्षापछि पेशा व्यवसाय छान्न पनि सहयोग गर्छ।
यी र यस्ता विषय बहुसंख्यक शिक्षक तथा अभिभावकलाई थाहा नहुँदा हाम्रा स्कूले शिक्षा हासिल गरिरहेका लाखौं विद्यार्थीको किशोरावस्था पुस्तक विना नै बितिरहेको छ। विद्यार्थीलाई पुस्तकप्रेमी बनाउन प्राथमिकतहदेखि नै उनीहरुको उमेर र रुचि बुझेर शिक्षक र अभिभावकले नै प्रयास गर्नुपर्छ। विकसित मुलुकहरुको सफल अभ्यासले पनि यो विषय प्रमाणित गरेको छ।
अमेरिका र बेलायतजस्ता मुलुकमा दुई वर्ष भएपछि नै बालबालिकाका लागि प्रकाशन गृहहरुले अक्षर विनाका चित्रकथाका स–साना पुस्तक प्रकाशन गर्छन्। ती बालबालिकाहरु रङ्गीचङ्गी पुस्तक देख्दा रमाउने र समात्न खोज्ने गर्छन्। बालबालिकाहरुलाई पुस्तकप्रेमी बनाउन अभिभावकहरुले यस्ता अक्षर विनाका पुस्तक आफ्ना छोराछोरीलाई किनिदिन्छन्।
घरमा अभिभावकले र विद्यालयमा शिक्षकले स–साना विद्यार्थीलाई अभिनयका साथ यस्ता चित्रकथा पढेर सुनाउने हो भने बालबालिकाहरु थप पुस्तक हेर्न उत्साहित हुन्छन्। यस्तै सामान्य शब्द र वाक्य पढ्न सक्ने विद्यार्थीहरुको पठनसीपको विकास गर्न र शब्दभण्डार बढाउन अतिरिक्त पुस्तकहरु सहयोगी हुन्छन्। विकसित मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि प्रकाशन गृहहरुसँग मिलेर बालबालिकाका लागि काम गर्न सकिन्छ।
प्राथमिक तह पढ्ने अधिकांश विद्यार्थीले सामान्य शब्द र वाक्य मात्र पढ्न सिकेका हुन्छन्। यस्तो वेला उमेर र रुचि अनुसारका चित्रकथाको पुस्तक उपलब्ध गराइदिने हो भने उनीहरुमा पढ्ने भोक जाग्छ। प्राथमिक तहमा बालपुस्तक पढने अवसर पाएका विद्यार्थी माथिल्लो तह पढ्न पनि अभिप्रेरित हुन्छन्।
पछिल्लोसमय हामी कहाँ पनि रुम टु रिड, परिचय पब्लिकेशन, कथालय, डिकुरा, एकता बुक्स र बुकप्यालेसले विभिन्न उमेर समूहका लागि बालपुस्तकहरु प्रकाशन गर्दै आएका छन्। कतिपय प्रकाशनगृहले अक्षर विनाका चित्रकथा पनि प्रकाशन गर्न थालेका छन्। बालबालिकालाई पुस्तकप्रेमी बनाउन रुम टु रिडले बीसभन्दा बढी मातृभाषामा बालपुस्तकहरु प्रकाशित गर्दै आएको छ। ती पुस्तक बालबालिकासम्म पुर्याउन रुम टु रिडले नेपालका दुर्गमका सामुदायिक विद्यालयमा पुस्तकालयसमेत स्थापना गरेको छ।
अमेरिकी नागरिक जोन उडले ‘शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने नाराका साथ सन् १९९९मा नेपालबाट पुस्तकालय अभियान थालेका थिए। उनको अभियान अहिले बाङ्लादेश, कम्बोडिया, भारत, लाओस, दक्षिण अफ्रिका, श्रीलंका, तान्जानिया, भियतनाम र जाम्बियामा पुगेको छ। हजारौँ पुस्तकालय स्थापना गरेर लाखौं पुस्तकप्रेमी बालबालिका जन्माइरहेको कुरा उनको पछिल्लो पुस्तक ‘साक्षर संसारतिर’ मा उल्लेख छ।
रुम टु रिडले पुस्तकालय अभियानसँगै बालिका शिक्षा कार्यक्रमलाई पनि अगाडि बढाएको छ। तर, स्थानीय सरकारले भने बालबालिकाका लागि पुस्तकालय स्थापना गर्नुपर्ने आवश्यकता महसूस गरेको देखिंदैन। यद्यपि कतिपय महानगर र नगरपालिकाले ‘बालमैत्री नगर’ घोेषणा गरेका छन्। यस्ता पालिकाले के–कस्तो मापदण्ड बनाएर बालमैत्री घोषणा गरे भन्ने खोजी नै हुँदैन।
उदाहरणका लागि विराटनगर महानगरपालिकाले ‘बालमैत्री नगर’ घोषणा गरेको धेरै वर्ष भइसक्यो। महानगरले ‘बालमैत्री वडा’ बनाउन विभिन्न वडामा बाल समितिहरु पनि गठन गरेको छ। यस्ता समितिमा आबद्ध सामुदायिक विद्यालयका विद्यार्थीले वेलावेला कार्यक्रम पनि गर्छन्। तर, यी समितिले सामुदायिकस्तरमा बालपुस्तकालय स्थापना गर्ने सोच बनाएको देखिंदैन।
यद्यपि कतिपय वडामा स्थानीयहरुको पहलमा स्थापित पुस्तकालय र वाचनालयलाई वडा समितिहरुले आंशिक सहयोग गरेका छन्। तर, ती पुस्तकालय र वाचनालयमा बालबालिकालाई चाहिने पुस्तक राखिएको हुँदैन। शिक्षक र अभिभावकले पनि त्यस्ता ठाउँमा बालबालिकाका लागि पुस्तक राख्न पहल गर्दैनन्।
आफ्नै स्कूले जीवनमा पाठ्यपुस्तक बाहेकका पुस्तक पढ्ने अवसर नपाएका बहुसंख्यक शिक्षकहरुले आफ्ना विद्यार्थीले त्यसो गरे पढाइमा बाधा पर्छ भनेर बुझेका छन्। यस्तै बुझाइ अधिकांश अभिभावकहरुको पनि छ। यसले गर्दा घर नजिकै खुलेका बालपुस्तकालय बहुसंख्यक विद्यार्थी र अभिभावकका लागि ‘नजिकको तीर्थ हेला’ सरह भएको छ।
स्कूले जीवनमा अतिरिक्त पुस्तक पढ्दा हुने चौतर्फी फाइदाबारे विद्यालय व्यवस्थापनले बुझ्न जरुरी छ। निजी विद्यालयहरुले पनि माथिल्लो कक्षाका विद्यार्थीका लागि मात्र हैन प्राथमिक तहदेखि नै बालचित्र कथा पढ्न पुस्तकालयको सुविधा दिनुपर्छ। सामुदायिक विद्यालयका बालबालिकालाई पुस्तकप्रेमी बनाउन टोलवासीले बालपुस्तकालयहरु सञ्चालन गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्छ। यसका लागि संघीय सरकारले पनि रणनीतिक कार्ययोजना अघि सार्न जरुरी छ।