देउवाको गृहजिल्लामा नेकपाको आक्रामक अभियान
कार्यकर्ताबाट आफ्नै पार्टीको सरकारको आलोचना भइरहँदा नेकपाले डडेल्धुरामा सरकारसँगको दूरी घटाउने र केन्द्रमा नेतृत्वबीचको टकरावका कारण तल्लो तहमा छाएको निराशा चिर्ने गरी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको आन्तरिक विवादका कारण पार्टी एकीकरणपछि पनि स्थानीय पार्टी कमिटी निस्क्रिय छन्। केन्द्र तथा प्रदेश २ बाहेक ६ वटै प्रदेशमा नेकपाकै सरकार छ। नेकपाका कार्यकर्ता भने सबैतिर पार्टीकै बहुमत भए पनि राम्ररी काम गर्न नसकेको भन्दै आफ्नै सरकारप्रति असन्तुष्ट छन्।
तर, सुदूरपश्चिम प्रदेशको डडेल्धुराको अवस्था फरक छ। नेकपा जिल्ला कमिटी डडेल्धुराले पार्टी कमिटी र सरकारबीचको दूरी घटाउन तथा जनता र पार्टीबीचको सम्बन्ध सुधारका लागि संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको छ।
नेकपा डडेल्धुराका अध्यक्ष मालसिंह मालका अनुसार, अहिलेसम्म परशुराम र आलिताल नगरपालिकाका वडा तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीबीच छलफल र बैठक सम्पन्न भएका छन्। डडेल्धुराका सात वटै स्थानीय तहमा अभियान सञ्चालन गरिने अध्यक्ष माल बताउँछन्। यस्तो अभियान १९ असोजदेखि जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा शुरु भएको छ।
“सरकारमा गएका र बाहिर बसेका मानिस बेग्लाबेग्लै हुन् भन्ने किसिमको जुन खाडल बनेको थियो, अभियानका क्रममा त्यसलाई हामीले मेट्ने काम गरेका छौं ।" - गजेन्द्र शाही, सदस्य, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी
अभियानका क्रममा स्थानीय पार्टी कमिटी र सरकारका प्रतिनिधिहरुबाट गुनासा आएको र पार्टी कमिटि र सरकारबीच समन्वयको अभाव रहेको पाइएको अध्यक्ष मालले बताए। “सरकारमा रहेका व्यक्तिले राम्रा कामको पार्टी पंक्तिबाट प्रचारप्रसार र अपनत्व लिएन भन्ने गुनासो गरे”, उनले भने, “पार्टी कमिटीका साथीहरुबाट चाहिं बजेट विनियोजन गर्दा पार्टीसँग परामर्श भएन, निर्वाचित भएर गएपछि पार्टीसँग समन्वय भएन भन्ने गुनासो आयो।”
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य एवम् डडेल्धुराका नेता गजेन्द्र शाही अभियानका क्रममा आफूले निर्वाचित गराएर पठाएका प्रतिनिधिलाई पार्टी कमिटी र मतदाताले धित मरुञ्जेल आफ्ना गुनासा सुनाएको बताउँछन्। “सरकारमा गएका र बाहिर बसेका मानिस बेग्लाबेग्लै हुन् भन्ने किसिमको जुन खाडल बनेको थियो, त्यसलाई हामीले मेट्ने काम गरेका छौं,” शाही भन्छन्।
“सरकारले गरेको कामको अपनत्व पार्टीले लिने र पार्टीको निर्देशन अनुरूप सरकार सञ्चालन होस् भन्ने आम कार्यकर्ताको भावना पाइयो। जनता र पार्टीको सम्बन्ध सुधार गरेर आगामी आम चुनावमा कांग्रेस किल्ला ढाल्ने योजना हो।” - मालसिंह माल, अध्यक्ष, नेकपा डडेल्धुरा
नेकपा डडेल्धुराले अहिलेसम्म छलफल सम्पन्न भएका पालिकाका वडा तहमा आगामी दिनमा बजेट विनियोजन गर्दा सबै समुदायसँग छलफल गरेर जनताको माग सुन्न निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ। नेकपा डडेल्धुराका अध्यक्ष मालले पार्टी र सरकारको समन्वयमा काम हुने गरी संयन्त्र बनाएको बताए। “सरकारले गरेको कामको अपनत्व पार्टीले लिने र पार्टीको निर्देशन अनुरूप सरकार सञ्चालन होस् भन्ने आम कार्यकर्ताको भावना पाइयो”, उनले भने, “जनता र पार्टीको सम्बन्ध सुधार गरेर आगामी आम चुनावमा कांग्रेस किल्ला ढाल्ने योजना हो।”
नेकपाका जिल्ला तहका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्लामा चुनावमा पराजित गर्ने तयारी गरिरहेका छन्। देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव जित्दै आएका छन्। त्यसो त, कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकाको मेयरमा २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमाले विजयी भएको थियो।
डडेल्धुराका नेकपा नेता शाही चुनावको बेला मात्र देखा पर्ने र त्यसपछि फर्केर नआउने देउवाले चुनाव जित्नु डडेल्धुराको लागि दुर्भाग्य भएको बताउँछन्। “देउवालाई यहाँको विकाससँग सरोकार नै छैन, हामीले अभियानका क्रममा जनतालाई यो कुरा पनि बताएका छौं”, उनले भने।
गढमा कांग्रेसलाई 'काउन्टर'
नेकपाले आफ्नो संगठन सुदृढीकरण र स्थानीय सरकारको कामको समीक्षाका लागि अभियान चलाएको देखिए पनि कांग्रेसले महाधिवेशन लक्षित कार्यक्रम गर्नुअघि नै आफ्नो उपस्थिति बलियो देखाउन सक्रियता बढाएको बुझिन्छ।
“केन्द्र र प्रदेशको निर्देशन र कार्यक्रम पर्खेर बस्ने हो भने त पार्टी शून्यताको स्थितिमा पुग्ने देखियो, त्यसैले डडेल्धुरा जिल्ला कमिटीले आफैं कार्यक्रम बनाएर जनतामा जाने निर्णय गरेको हो ।” - गजेन्द्र शाही, सदस्य, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी
नेकपा नेता शाही डडेल्धुरामा जुन राजनीतिक दल पहिले जनतामाझ गयो, जनता त्यसैमा आबद्ध हुने प्रवृत्ति रहेको बताउँछन्। “२०४८ सालमा डडेल्धुरामा तत्कालीन नेकपा एमाले एकदमै कमजोर थियो। हामी गाउँगाउँमा जाँदा धेरै मानिसले आफूहरूले पहिल्यै कांग्रेसको सदस्यता लिएको बताए”, उनी भन्छन् “कांग्रेसले महाधिवेशन लक्षित कार्यक्रम नगर्दै उसलाई काउन्टर गर्ने पनि हाम्रो उद्देश्य हो।”
त्यस बाहेक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच देखिएको तिक्तताले तलसम्मका कार्यकर्तामा छाएको निराशा मेट्न र कार्यकर्तालाई पार्टी एकताको सन्देश पुर्याउन पनि आफूहरुले अन्य जिल्लामा भन्दा फरक किसिमले पार्टीको काम अगाडि बढाएको शाहीको भनाइ छ। “केन्द्र र प्रदेशको निर्देशन र कार्यक्रम पर्खेर बस्ने हो भने त पार्टी शून्यताको स्थितिमा पुग्ने देखियो, त्यसैले डडेल्धुरा जिल्ला कमिटीले आफैं कार्यक्रम बनाएर जनतामा जाने निर्णय गरेको हो”, उनले भने।
डडेल्धुरा बाहेक नेकपा सुदूरपश्चिमका बाजुरा, अछाम, डोटी लगायत जिल्लामा पनि पार्टीका स्थानीय कमिटीहरुले भेला र बैठक आयोजना गरेका छन्। नेकपा सुदूरपश्चिम कमिटीका अध्यक्ष कर्ण थापाका अनुसार, अहिले संगठित सदस्यता नवीकरण, पार्टीका भेला र छलफल चलिरहेका छन्। “कोरोना संक्रमण महामारीले अलि बढी नै सताउँछ कि भन्ने थियो। तर, सुदूरपश्चिमका धेरै जिल्ला अहिले संक्रमित शून्य भएकाले हामीले पार्टीको कामलाई निरन्तरता दिएका हौं।”