चार वर्षअघि चोरी भएको चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो
चोरी भएको चार वर्षपछि जुम्लाको चन्दननाथ मन्दिरबाट हराएको एक थान बहुमूल्य दाहिने शङ्ख भेटिएको छ।
११ मंसीर २०७३ मा चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहिने शङ्ख भेटाएको हो। तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
“मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,” काफ्लेले भने, “उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईबरको झोलामा बेरेर राखेको अवस्थामा शङ्ख भेटाएका छौँ।”
तीन दिन अघि पक्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति फेला परेका थिए।
प्रहरीले शंकास्पद देखिएका बिष्टसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। त्यसपछि चार वर्ष अघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ।
चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेबारिसे अवस्थमा भेटिएका थिए। चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित २१ थान मूर्ति चोरी भएका थिए।