सक्रिय संक्रमित २५ हजार नाघे, के फेरि बन्दाबन्दी होला? स्वास्थ्य मन्त्रालय भन्छ- छलफलमै छौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधवार पछिल्लो २४ घण्टामा मुलुकमा एकै दिन ३ हजार ४३८ जना कोरोना संक्रमित थपिएका छन्।यससँगै मुलुकमा कोरोना संक्रमित हुनेहरूको संख्या ९४ हजार २५३ पुगेको छ।
बुधबार मुलुकमा एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। ७ असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसीसी) ले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यसबेलासम्म मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ थियो। स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले आईसीयू, भेन्टिलेटर र अन्य उपचारसहितको स्वास्थ्यको विद्यमान संरचनाका आधारमा २५ हजारसम्म मात्र कोरोना संक्रमितलाई उपचार गर्ने पूर्वाधार भएकाले उक्त निर्णय गर्नुपरेको बताएका थिए।
मुलुकमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या उच्च दरमा बढेपछि कोरोनाका सिकिस्त बिरामीलाई उपचार गर्न चाहिने आईसीयू र भेन्टिलेटरको अभाव भएको र त्यसै कारण बिरामीले ज्यान गुमाउन थालेका विवरण सार्वजनिक हुन थालेका छन्। त्यसो त स्वास्थ्य मन्त्रालयले समेत संक्रमितको संख्या बढेसँगै स्थिति जटिल बन्दै गएको बताएको छ।
मुलुकमा सिकिस्त बिरामीका लागि चाहिने पूर्वाधार नहुने र यसै कारण आइसीसीले मुलुकमा कोरोना सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने गरेको निर्णयपछि अब के हुने हो भन्ने प्रश्न उठेको छ।
बुुधबार मुलुकमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेपछि यसबारे हिमालखबरसँगै कुरा गदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बेड अभाव भयो भने मात्र बन्दाबन्दी गर्न सरकारलाई आग्रह गर्ने बताए। “अहिले नै बन्दाबन्दी गर्नुपर्ने अवस्थामा पुगिसकेका छैनौँ। स्वास्थ्य मन्त्रालय यसबारे आन्तरिक छलफलमै छ”, डा. गौतमले भने। उनले बन्दाबन्दी गर्नुपर्यो भने पनि देशव्यापी रुपमा नहुने बरु आवश्यक देखिएका केहि निश्चित ठाउँमा मात्र हुने बताए।
मन्त्रालयका प्रवक्ता डा. गौतमले स्वास्थ्य मन्त्रालयले आवश्यक मात्रामा बेड थप्ने र भेन्टिलेटरलगायतको व्यवस्थापनमा जुटिरहेको बताए। उनले त्यसै क्रममा बुधबार भक्तपुरको कोरिया मैत्री अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको समेत जानकारि दिए।
स्वास्थ्य मन्त्रालयको २१ असोजसम्मको तथ्यांक अनुसार मुलुकभर २३३ संक्रमित आईसीयू र ३७ संक्रमित भेन्टिलेटरको सहायतामा उपचाररत छन्।
डा. गौतमले मानिसहरूले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तर आईसीयू बेड र भेन्टिलेटर थपेर मात्र समस्याको समाधान नहुने बताए।
“नेपाल, बाङ्लादेश जस्ता देशमा संक्रमणदर उच्च रुपमा बढीरहेको छ,” उनले भने, “त्यसैले बानी परिवर्तन नगरेसम्म संक्रमणदर रोकिदैन।”