कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो
कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ। बुधबार मात्रै ६९ जनामा कोरोना पुष्टि भएको छ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या चार हजार ३७ पुगेको हो। बुधवार प्रदेश अस्पताल र पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६४ जना , दैलेख अस्पतालमा ४ जना र रुकुमपश्चिममा १ जना गरेर ६९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३ हजार २ सय २९ पुगेको छ। कर्णालीमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ८२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सक्रिय कोरोना संक्रमित रहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ। हालसम्म कर्णाली प्रदेशमा कोरोना पुष्टि भएका १० जनाको मृत्यु भैसकेको छ।