मन्त्री गुरुङद्वारा शारीरिक अपांगता भएका २४० जनालाई ह्वील चेयर वितरण
सरकारले अपांगता भएका व्यक्तिहरूलाई ह्वील चेयर वितरण गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपांगता भएकाहरूलाई सहायक सामग्रीको रुपमा २४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक किसिमको ह्वील चेयर वितरण गरेका हुन्।
‘अम होङ गिल ह्युमन फाउन्डेशन’ सँगको सहकार्यमा ह्वील चेयर उपलब्ध गराइएको र यस्तो ह्वील चेयर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि वितरण गर्ने नेपाल सरकार अन्तर्गतको अपांग कोषका सभापति रमेश लामाले जानकारी दिए।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वितरण गरिएको ती ह्वील चेयरको बजार मूल्य रु. १५ हजारदेखि २ लाख ५० हजारसम्म रहेको मन्त्रालयले जनाएको छ।
ह्वील चेयर वितरण कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरूको सहयोगका लागि सरकार तयार रहेको बताए। उनले भौतिक संरचनाहरूलाई अपांगतामैत्री बनाउनु सरकारको प्राथमिकता भएको पनि बताए।