जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्ष र स्वास्थ्यकर्मीसहित ६ जनाको मृत्यु (अपडेट)
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। १ जना खोलामा बगेर बेपत्ता भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा वडाध्यक्षदेखि स्वास्थ्यकर्मीसम्म रहेको प्रहरीले जनाएको छ।
सदरमुकाम खलंगाबाट जुनीचाँदको परालेका लागि छुटेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे-१ औलखोलामा बुधबार दिउँसो दुर्घटना भएको हो। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका-११ का वडाध्यक्ष अन्दाजी ५० वर्षीय अमरबहादुर शाही, महेन्द्र माध्यामिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अन्दाजी ६० वर्षीय कृतिबहादुर शाही, प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय अन्दाजी ३१ वर्षीय खेमराज शाही र २९ वर्षीय कृष्णबहादुर शाही रहेका जाजरकोटका प्रहरी निरीक्षक महेश आचार्यले हिमालखबरलाई बताए।
यस्तै, अन्दाजी ३५ वर्षीया मालिका बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ। मृतकमध्ये एकजना पुरुषको सनाखत हुन बाँकी छ। जीप सडकबाट करीब २५० मिटर तल खोलामा खसेको घटनास्थलमा रहेको स्थानीय वासिन्दा राम बिस्टले बताए। उनका अनुसार दुर्घटनामा परेका लालबहादुर बुढा बेपत्ता छन्।
दुर्घटनामा घाइते भएका नरबहादुर बुढालाई उपचारका लागि सुर्खेत रेफर गरिएको छ। घटनास्थलमा प्रहरी चौकी पञ्चाला, इलाका प्रहरी कार्यालय बडावनको टोली पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश आचार्यको टोली पनि घटनास्थलतर्फ जाँदैछ।