विदेशिएका खेलाडीलाई जोड्ने बाटो
विभिन्न देशमा रहेका प्रतिभाशाली नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउने नयाँ अभ्यास, प्रतिभाको संरक्षण र पदक दिलाउने उद्देश्यसँग सम्बन्धित छ।
सन् २०१४ मा दक्षिण कोरियामा सम्पन्न एशियाली खेलकुदमा कांस्य पदक जितेकी विमला तामाङ ।
सन् २०१४ मा दक्षिण कोरियामा सम्पन्न एशियाली खेलकुदमा नेपाललाई एक मात्र कांस्य पदक दिलाएयता कराँते खेलाडी विमला तामाङ हराए जस्तै भइन् । कराँतेमा देखिएको विवादका कारण उनी त्यसपछि खेलमा फर्किइनन्, बरु अमेरिका पलायन भइन् ।
तिनै विमला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नेपाल आउँदैछिन् । प्रदेश–५ को नेपालगञ्जमा हुने भएको प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आउँदो ५ वैशाखदेखिको नयाँ तिथि तोकेको छ ।
विमला जस्तै विभिन्न मुलुकमा बसिरहेका २४ जना खेलाडी नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् । उनीहरूले ९ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
राखेपले विदेशमा बसिरहेका नेपाली खेलाडीलाई ‘गैरआवासीय नेपाली संघ’ (एनआरएनए) को टोलीबाट प्रतियोगितामा समावेश गरेपछि उनीहरूले यस्तो मौका पाएका हुन् । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट भन्छन्, “यदि प्रतिभाशाली खेलाडी विदेशमा छन् र उनीहरूले देशका लागि योगदान दिन सक्छन् भने प्रतियोगिता खेल्न वञ्चित गरिनु हुन्न भनेर समेट्ने निर्णय गरेका हौं ।”
योसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेशका टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका तीन विभागीय टोलीसँगै एनआरएनएको टोली समेत गरी ११ वटा टोलीले भाग लिनेछन् ।
सहभागिताको उत्साह
गैरआवासीय नेपाली संघका अनुसार राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने ढोका खुलेसँगै विश्वभर रहेका नेपाली खेलाडीहरूमा सुखद तरंग फैलिएको छ ।
हिजो कुनै पनि कारणले विदेशिएका खेलाडीहरू देशको नामबाट खेल्न नपाउने हुँदा प्रतिभा मर्ने र देशका लागि पनि घाटा हुने अवस्था थियो । त्यो अवस्था अब अन्त्य भएको छ । विदेशमा रहेका खेलाडीलाई देशबाट खेल्ने मौका दिनु ३७ वर्षको राष्ट्रिय खेलकुदको इतिहासमा नयाँ फड्को हुनेछ ।
एनआरएनएका अध्यक्ष भवन भट्ट प्रशिक्षक सुनिल लामालाई एनआरएनएको जर्सी हस्तान्तरण गर्दै ।
नयाँ प्रावधान अनुसार राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बन्ने खेलाडी नेपालमै आगामी मंसीरमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) मा छनोट हुनेछन् ।
उनीहरूले देशको प्रतिनिधित्व गरी एशियाड र ओलम्पिक जस्ता प्रतियोगिता खेल्ने ढोका समेत खुल्नेछ । यो निर्णयबाट उत्साहित एनआरएनएले टोलीको नारा, जर्सी, झण्डा, प्रशिक्षण जस्ता व्यवस्थापकीय काम शुरु गरिसकेको छ ।
एनआरएनएको खेलाडी र प्रशिक्षक सहित कुल ५० सदस्यीय टोली नेपालगञ्ज पुग्ने बताइएको छ । एनआरएनएको कराँते टोलीका प्रशिक्षक सुनिल लामा भन्छन्, “बेलैमा जानकारी पाएको भए म आफैं फिट भएर खेल्ने थिएँ, अब नभ्याउने भएकाले प्रशिक्षकको रुपमा सहभागी हुँदैछु ।” हाल अमेरिकामा बसोबास गरिरहेका लामा ११औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाएका खेलाडी हुन् ।
विदेशिएका कतिपय खेलाडीहरू अध्ययन वा आफ्ना काममा व्यस्त भए पनि समय मिलाएर खेलकुदलाई निरन्तरता दिइरहेका छन् । उनीहरू क्लब च्याम्पियनसिप वा नेपालकै नाममा विभिन्न प्रतियोगितामा भाग लिने गर्छन् ।
अर्कोतर्फ, कतिपय खेलाडीले आफ्ना सन्तानलाई खेलकुदमा संलग्न गराएका छन् । अमेरिकामा गएको वर्ष सम्पन्न प्रतियोगिता जितेकी विमला तामाङ भन्छिन्, “नेपाल छोड्नु बाध्यता भए पनि खेल छोड्न त कहाँ मन मान्छ र ! पढाइबाट समय निकालेर प्रशिक्षण लिन्छु ।”
एनआरएनएको टोली पहिलो पटक सहभागी हुन लागेकोले यसपालि व्यक्तिगत स्पर्धामा मात्र भाग लिनेछ । समूहगत खेल खेल्न यस पटक समन्वयको अभाव भएको आयोजक सचिवालयले जनाएको छ ।
प्रतियोगितामा समन्वय गरिरहेको एनआरएनए अन्तर्गत नेपाल खेलकुदका संयोजक स्वयम्भुराज डंगोल भन्छन्, “पहिलो सहभागिता भएकाले यसपालि खेलाडीहरूको विधा र तौल नजुध्ने गरी मिलाएका हौं । अर्को संस्करणमा खेलाडी संख्या बढेसँगै छनोट खेल आयोजना गरेर खेलाडी छान्नेछौं ।”
चुनौती बजेटको
प्रतियोगितामा खेलाडीहरू पठाउन एनआरएनएको मुख्य चुनौती बजेट व्यवस्थापन हो । एनआरएनएले खेलाडीलाई एकतर्फी हवाई टिकट दिने वा निश्चित रकम दिने वा सम्पूर्ण खर्च व्यहोर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।
शुरुमा सम्बन्धित देशको राष्ट्रिय समन्वय समिति (एनसीसी) ले नै खर्च व्यहोर्ने भनिए पनि त्यसमा अप्ठेरो देखिएपछि एनआरएनएको अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) र एनसीसी मिलेर खर्च व्यहोर्ने समझदारी भएको बताइएको छ ।
जस्तै, १२ खेलाडीले भाग लिन लागेको यूएईको एनसीसीलाई मात्र खर्च व्यवस्थापन गर्न गाह्रो हुनेछ । युएई एनसीसीका अध्यक्ष मनोज गोर्खाली भन्छन्, “खेलकुदका लागि यो कार्यकालमा हामीले बजेट नछुट्याए पनि खेलाडीको एक रुपैयाँ पनि खर्च हुन दिन्नौं ।”
खेलाडीको खर्चदेखि एनआरएनएले उनीहरूको प्रशिक्षणको व्यवस्था, उनीहरूले प्रयोग गर्ने खेलकुद सामग्री, प्रशिक्षक, चिकित्सक, सुरक्षा जस्ता आवश्यक आधारभूत व्यवस्था पनि गर्नुपर्नेछ ।
जसका लागि उनीहरू अनुभवी नहुन सक्छन् । तर त्यसका लागि तयारी भइरहेको बताउने एनआरएनए एशिया प्रशान्त क्षेत्रका संयोजक मुकेश वडुवाल भन्छन्, “बृहत् राष्ट्रिय खेलकुद खेल्नु चानचुने विषय होइन । त्यसैले हामी कुनै कुरामा कमी हुन दिन्नौं ।”