कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिन थालेको बताएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आम सर्वसाधारणको लापरवाहीको कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको बताएका हुन्।
गौतमले संक्रमण वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेको र बिरामीलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन नसकेको बताए। उनले सरकारी र निजी अस्पतालले उपचारको व्यवस्था गर्नुपर्ने अवस्था आएको समेत बताए। "काठमाडौं उपत्यकामा यही अनुपातमा संक्रमण बढ्ने हो भने अस्पतालहरूले भार थेग्न सक्दैनन्", उनले भने।
उनले सामान्य रुघाखोकी लागेका मानिसहरु अस्पताल जाने क्रम बढेको भन्दै अस्पतालमा अनावश्यक शंकाकै भरमा चेकजाँच गर्न जानु नपर्ने बताए। उनले श्वास फेर्न गाह्रो भएका, बेहोस भएका वा हुन खोजेका, पिसाबसमन्धी समस्या देखिएका र गम्भीर प्रकृतिका समस्या देखिएका व्यक्ति मात्रै अस्पताल जान आग्रह गरे।