कांग्रेसले भन्यो- 'अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगर्ने बालहठ सरकारलाई महंगो पर्नेछ'
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राखेर विगत २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगर्ने बालहठ सरकारलाई महंगो पर्ने चेतावनी दिएको छ।
कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनले उठाएका मागहरू सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल सरकारले किमार्थ नगरोस् भनेर चेतावनी दिइएको छ।
"अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो। वार्ता समितिसम्म गठन गर्नुभएको छैन। कुनै बेला कमरेड प्रचण्डहरूको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नुहुन्थ्यो, त्यो स्वभाविक थियो। अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि- लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ?", प्रधानमन्त्री ओलीलाई सम्बोधन गरिएको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले आफ्नो पालामा डा. केसी अनशन बस्दा, वार्ता गरेर कयौं माग पूरा गरिएको दाबी गरेको छ। "चाहे सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवादमार्फत उहाँका माग पूरा गरिए", विज्ञप्तिमा भनिएको छ, "तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयोऽ अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवादमार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन। सत्याग्रहीलाई दुर्व्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन्।"