निर्मला पन्त हत्या: प्रमाण नष्ट मुद्दामा सफाइ पाएकी प्रहरी जवान भन्छिन्– ‘आफ्नै संगठनले नजरबन्द गर्यो’
निर्मला पन्त बलात्कार र हत्यामा प्रमाण नष्ट गरेको भन्दै निलम्बन र मुद्दा खेपेकी प्रहरी जवान चाँदनी साउद अब पुनः काममा फर्कने तयारीमा छिन्। तर, दुई वर्षसम्म खेप्नु परेको सास्तीका घटना सम्झँदा अहिले पनि उनको गला अवरुद्ध हुन्छ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण नष्ट गरेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले प्रहरी जवान चाँदनी साउदलाई गएको १५ साउनमै सफाइ दिएको थियो। तर, प्रहरी नियमावलीमा भएको त्रुटिका कारण निलम्बन फुकुवा हुनसकेको थिएन। मन्त्रिपरिषदको गएको ८ असोजको बैठकले नियमावलीमा संशाेधन गरेर निलम्बनमा परेका प्रहरीलाई काममा फर्कने बाटो खोलेको छ।
दुई वर्षपछि चाँदनी काममा फर्कने तयारीमा छिन्। उनले फेरि जनताको सुरक्षा र आपराधिक घटनाको अनुसन्धानमा काम गर्नुपर्नेछ। तर, ती पुराना घटनाहरु पनि बिर्सिन सकेकी छैनन्।
त्यो ११ साउन २०७५ को दिन बिहान ९ बजे खाना खाइसकेर कार्यालय जाने तरखरमा थिइन्। त्यही वेला डीएसपी ज्ञानबहादुर सेठीले ‘घटनास्थल’ जानुपर्ने बताए। उनी मुद्दा शाखामा कार्यरत थिइन्। डीएसपीको टोलीसँगै उनी पनि उतै लागिन्।
डीएपीसहितको टोलीभन्दा अघि वडा प्रहरी कार्यालयको टोली घटनास्थल पुगिसकेको थियो। चाँदनी भन्छिन् “हामी पुग्दा मान्छेहरुको ठूलो भीड जम्मा भइसकेको थियो। निर्मलाको शव उखुबारीको हिलोमा थियो।”
प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्न थाल्यो। निर्मलाको योनीबाट रगत बगेको थियो। उत्तानो अवस्थामा रहेको शव देखेर उनलाई नराम्रो लाग्यो। "घटनास्थलमा महिला म मात्र भएको कारणले त्यो भवितव्य देख्नै सकिनँ। मसँग ओढ्ने वा सल केही पनि थिएन” चाँदनी भन्छिन्, “मैले सुरुवाल पानीबाट निकालेर उसको शरीरमा छोपिदिएको मात्र हुँ। त्यही कामलाई बङ्ग्याएर प्रहरीले प्रमाण नष्ट गरेको कथा बनाइयो।”
चाँदनीले सुरुवालले शरीर छोपिदिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो। त्यसलाई प्रहरीले प्रमाण नष्ट गरेको रुपमा व्याख्या गरियो। निर्मलाको बलात्कारपछि हत्या भएको घटना छानबिनका लागि जति समिति बने, ती सबैमा उनले बयान दिइन्। तर, उनका लागि सबैभन्दा कठिन चाहिं काठमाडौंको २ नम्बर प्रहरी गणको तीन महीने बसाइ नै भयो।
अनुसन्धानका नाममा १ भदौ २०७५ मा उनीसहितका प्रहरीलाई काठमाडौं बोलाइयो। एक महीनासम्म एक्लै होटलमा बसिन्। बिहान ७ बजे प्रहरी प्रधान कार्यालयमा हाजिर हुने अनि साँझ होटल फर्कने।
एक महीनापछि उनलाई महाराजगञ्जस्थित प्रहरी गणमा लगियो। त्यहीं नजरबन्द गरियो। कम्पाउण्डभन्दा बाहिर जान प्रतिबन्ध थियो। आवश्यक सामान किन्न बाहिर जानु परे साथमा प्रहरी खटिन्थे।
तत्कालीन एआइजी धीरु बस्नेतको नेतृत्वमा गठित छानबिन समितिले उनीसहितका प्रहरी कर्मचारीलाई नजरबन्द गरेको थियो। २१ असोज २०७५ मा निलम्बन गरेपछि पनि उनलाई लामो समय गणमै राखियो। निलम्बनपछि विना काम राखिएको भन्दै उनले प्रहरीमै निवेदन दिइन्। त्यसपछि भने घर फर्किन दिइएको थियो।
चाँदनीसहित तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जीसीलगायत आठ प्रहरीविरुद्ध प्रमाण नष्ट गरेको अभियोगमा २२ फागुन २०७५ मा मुद्दा चलाइयो। आफ्नै संगठनले चलाएको मुद्दापछि उनका दुःखका दिन शुरु भए।
“वकिल राखेर मुद्दा लड्दा दुई वर्ष बित्यो। मानसिक रुपमा धेरै तनाव भोगें, पैसा पनि सकियो, मुद्दा मामिला गर्दा लागेको ऋण कसरी तिर्ने ? अब अर्को तनाव थपिएको छ।”
“वकिल राखेर मुद्दा लड्दा दुई वर्ष बित्यो। मानसिक रुपमा धेरै तनाव भोगें” चाँदनी भन्छिन्, “पैसा पनि सकियो, मुद्दा मामिला गर्दा लागेको ऋण कसरी तिर्ने ? अब अर्को तनाव थपिएको छ।” मुद्दा लड्न करीब रु.५ लाख खर्च भएको उनी बताउँछिन्।
बाबुको सपना पूरा गर्न प्रहरी सेवामा
उनलाई आफ्ना बाबु लक्ष्मणसिंह साउदको अनुहार याद छैन। बाबु बित्दा उनी भर्खर पाँच वर्ष लागेकी थिइन्। नेपाल प्रहरीमै कार्यरत बाबु लक्ष्मणसिंह ४ फागुन २०५८ मा अछामको साँफेबगरमा माओवादीले गरेको आक्रमणमा मारिएका थिए।
जब चाँदनी बुझ्ने हुँदै गइन्, उनलाई लाग्न थाल्यो कि बाबुजस्तै प्रहरीमा भर्ती भएर देशको सेवा गर्नुपर्छ। उनी भन्छिन्, “जब म बुझ्ने भएँ, मलाई बाबाको यादले धेरै सताउँथ्यो। सधैं उहाँको अभाव खड्कन्थ्यो। अनि बाबाको सपना पूरा गर्न प्रहरीमा भर्ती हुनुपर्दछ भन्ने लागेर यता जागिर खान आएँ।”
कैलालीको अत्तरिया निवासी चाँदनी घरबाट चोकतिर जाँदा डिउटीमा रहेका प्रहरी देख्थिन्। अनि आफू पनि त्यस्तै पोशाक लगाएर डिउटी गरेको सपना बुन्थिन्।
एसएलसीपछि उनले प्रहरीमा भर्ना हुन तयारी थालिन्। २०७२ सालमा प्रहरी सेवामा प्रवेश गरिन्। सेवा प्रवेश गरेको तीन वर्षमा सोच्दै नसोचेको लफडामा परिन्। निलम्बन फुकुवा भएपछि पुनः जागिरमा जोडिने तयारी गरेकी चाँदनी भन्छिन् “एक दिन न्याय पाउँछु भन्ने थियो। तर, विभिन्न स्वार्थी समूहको उक्साहटमा मुद्दा खेप्नुपर्याे। आगामी दिनमा प्रहरी सेवामा रहेरै देश र जनताको सेवा गर्छु।”