कोरोना असरले चाडपर्व नजिकिदै गर्दा पनि सुनसान छन् काठमाडौं उपत्यकाका पसलहरू
चाडपर्व नजिकिदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरू सुनसान देखिएका छन्। दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको छ।
विगतका वर्षहरूमा दशैं नजिकिएसँगै निकै भीड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो। न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका मुख्य व्यापरिक बजारहरूमा यतिवेला कुनै चहलपहल देखिदैन। केही पसलहरू खुले पनि अधिकांश पसलहरू सबेरै बन्द भइसकेका हुन्छन्।
सामान खरिद गर्न जानेहरू निकै न्यून देखिन्छन्। खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लायतका बाजर पसलहरू सुनसान देखिन्छन्। विगतमा चाडपर्वको समयमा निकै भीड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरू निरास बनेका छन्।
न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भीड हुने बजारहरू हुन्। तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरू सामान खरिद गर्न बजार निस्किएका छैनन्। त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारिहरूको गुनासो छ।
ठमेल क्षेत्रमा आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरू किनमेलका लागि बढी आउने क्षेत्र हो। पर्यटकिय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरू नै देख्न पाइदैन।
त्यसैले पर्यटकलाई लक्षित गरी खोलिएका पसलहरू पनि प्राय बन्द देखिन्छन्। कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ।