झुलाघाट नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए
नेपाल–भारत सीमामा पर्ने बैतडीको झुलाघाट नाका बन्द हुँदा वारिका व्यापारी भारततिरै रोकिएका छन्। नेपालतर्फका अधिकांश व्यापारीको बसाइ पारिको भारतीय बजारमा छ।
बन्दाबन्दी खकुलो भएपछि पनि नाका नखुल्दा भारततर्फ गएका व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए। उनका अनुसार नेपालमा व्यापार गर्ने करीब २५ व्यापारी भारततर्फ रोकिएका छन्।
लामो समय पसल खोल्न नपाउँदा समस्या भएको भन्दै व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन्। अध्यक्ष जोशीले भने, “लामो समयदेखिको लकडाउनले बिक्रीका लागि राखिएको सामान बिग्रिसकेको छ, एक दुई दिनका लागि भए पनि सीमापारि अड्किएका व्यापारीलाई वारि आउने वातावारण मिलाइदिन प्रशासनसँग आग्रह गरेका छौँ।”
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए। उनले भने, “अन्तर्राष्ट्रिय नाका भएकाले पहिला नेपाल सरकारले निर्णय गर्नुपर्छ। त्यसपछि दुई देशको सहमतिमा नाका खुल्छ।”