राजस्थानलाई हराउँदै मुम्बई आईपीएलको शीर्षस्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) को हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले हराउँदै मुम्बई इन्डियन्स अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।
हिजोको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले चार विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा १३६ रन बनाउँदा सबै विकेट गुमायो।
राजस्थानका लागि जोस बट्लरले ४४ बलमा ७७ रन बनाएका थिए। मुम्बईका लागि जसप्रित बुम्राहले चार विकेट लिए। उनले चार ओभरमा २० रन खर्चेका थिए।
यसअघि मुम्बईले १९३ रन बनाउन चार विकेट खर्च गरेको थियो। सूर्यकुमार यादवले ४७ बलमा ७९ रन बनाएका थिए। राजस्थानका श्रेयस गोपालले दुई विकेट लिएका थिए।
जितपछि ६ खेलबाट आठ अंकसहित मुम्बई शीर्षस्थानमा पुगेको छ। आठ अंक नै भएको दिल्ली क्यापिटल्स रनरेटका आधारमा दोस्रो स्थानमा धकेलिएको छ। दिल्लीले एक खेल कम खेलेको छ।