बझाङमा बलात्कारको घटना मिलापत्र गराएर प्रमाण नष्ट गर्नेहरू पक्राउ
बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङको मस्टा गाउँपालिका, खिकालामा २६ साउनमा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा छन्। यो घटना गाउँमै मिलापत्र गरेको केही समयपछि पीडक राजेन्द्र बोहराले अर्की बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्। अर्को घटनामा बोहराले १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोप लागेको छ।
मिलापत्रमा आरोपीहरूले '१३ वर्षीया बालिकाको गर्भ रहे बोहराले जिम्मा लिने' कागज गराएका थिए। उनीहरूले पाँच सय जरिवाना तिराएर घटनालाई ढाकछोप गरेको आरोप प्रहरीले लगाएको छ।
उनीहरूलाई 'जबरजस्ती करणी मुद्दामा कसुरको प्रमाण दबाएको' अभियोगमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।