संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष दाहालसँग छलफल गर्ने
संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने भएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वबीच थप गृहकार्य गरी अर्को बैठकमा छलफल गर्ने निर्णय भएको हो।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट थिए। प्रधानमन्त्री ओलीले तीन देशका लागि एकलौटी ढंगबाट राजदूत नियुक्त गरेको आरोप नेताहरूले लगाएपनि सचिवालय बैठकमा भने सामान्य छलफल मात्रै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
राजदूत नियुक्तिका विषयमा सामान्य छलफल भएपनि त्यस्ता निर्णयहरू गर्दा सरकारलाई सुझाव दिने विषयमा अर्को बैठकमा छलफल हुने उनले बताए। मन्त्रिपरिषद हेरफेरको विषयमा आज कुनै पनि छलफल नभएको उनले बताए।
यसअघि बसेको सचिवालय बैठकले सैद्धान्तिक र नीतिगत रुपमा छलफल गरेपनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको गृहकार्य जारी रहेकाले आज कुनै छलफल नभएको उनले बताए।