दशैं आइसक्यो, लामो र मध्यम दूरीका यातायातको टिकट बुकिङ अन्योलमै
दशैं र चाडपर्वका लागि लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ।
यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यक्ता नै नपर्ने देखिएको बताएको छ। विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताए।
यस वर्षको दशैंमा ४-५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने देखिएको उनले बताए। अहिले पनि काठमाडौंबाट मध्यम र लामो दूरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उनले बताए। तर पनि २५ गतेपछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकाले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरी टुङ्गोमा पुगिने उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौं त्यहिं दशैं मनाउन अर्थात यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरूको आवागमन कम हुने आकलन आफूहरूको रहेको भुसालले बताए। तर अग्रिम टिकट बुकिङको व्यवस्था नभएपनि दशैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उनले बताए।
गत वर्ष दशैंको बेलामा करिब २० लाख मानिसहरू काठमाडौंबाट बाहिरिएका थिए। तर अहिले ४-५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवश्यक्ता नपर्ने देखिएको भुसालको भनाइ छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार भन्दामाथि पुगेमा बन्दाबन्दी गर्न सिफारिस गरेको कारणले पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने नगर्ने भन्ने सम्बन्धमा अन्योल देखिएको भुसालले बताए।