सीमापार अपराध नियन्त्रण गर्न दुई देशका सुरक्षा अधिकारीहरू सहमत
नेपाल र भारतको सीमा जोडिएका केही जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सीमा आरपार अपराध नियन्त्रण गर्न सहमत भएका छन्।
भारतको बिहार राज्यको पूर्वी चम्पारण तथा पश्चिम चम्पारण जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तथा ती भारतीय जिल्लासित सीमा जोडिएको नेपालका रौतहट, बारा, पर्सा, चितवन, पूर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको बैठक बाराको कलैयामा भएको हो।
भारतीय जिल्लाका सुरक्षा अधिकारीहरूको नेतृत्व पूर्वी चम्पारण जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट शिर्सत कपि अशोकले तथा नेपालको तर्फबाट चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नेतृत्व गरेका थिए। संयुक्त बैठकमा नेपालतर्फका २६ र भारततर्फका २३ गरी ४९ जनाको सहभागिता रहेको थियो।
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति तथा सुव्यवस्था कायम गर्ने, सीमा क्षेत्रमा हुने अवैध हातहतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण, अपराध तथा सोको नियन्त्रण सम्बन्धी सूचनाहरूको आदानप्रदान गर्ने, चोरी निकासी एवम् तस्करी नियन्त्रण गर्ने, कोभिड –१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरूको आदानप्रदान गरी सामूहिकरूपमा अगाडि बढ्ने, भारतको बिहार राज्यको तेस्रो चरणमा हुन गइरहेको राज्यसभाको निर्वाचनलाई स्वच्छ एवम् मर्यादित रुपमा सम्पन्न गर्न तीन दिन बोर्डर सिल गरी यातायात र मानिस आवतजावत बन्द गर्ने लगायतको एजेन्डामा दुवै देशका सीमावर्ती अधिकारीहरूबीच छलफल भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।