नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल नै भएन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश नै पाएन। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठमा विभिन्न संवैधानिक आयोगमा नियुक्ति र पार्टी एकिकरण सम्पन्न गर्ने विषयमा छलफल भएपनि चर्चामा रहेको मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल भएन।
"सचिवालयको आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा प्रधानमन्त्रीले कुनै जानकारी दिनुभएको छैन। दुई अध्यक्षबीच कुनै छलफल भइरहेको होला", बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
श्रेष्ठले अनशनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राखेका मागहरू अधिकांश सम्झौता भइसकेको र केही विषयमा कार्यन्वयनमा गइसकेको निष्कर्षमा पुगेको बताए। उनले कोरोना महामारीको बेला अन्य विषयमा छलफल गर्नु भन्दा अवस्था सामान्य भएपछि गर्न सकिने भन्दै अनशन अन्त्य गर्न अनुरोध गर्ने निर्णय भएको बताए।