२० वटा सहरी बस थप्दै साझा
साझा यातायातले काठमाडौं उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थप्दै छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो ।
साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । उनले भने, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेका छन् । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाडौं आइपुग्नेछन् ।”
बस काठमाडौं आइपुगेपछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाडौं महानगरपालिकाले रु पाँच करोड र ललितपुर महानगरपालिकाले रु एक करोड शेयर खरीद गरेका छन् ।
विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो ।
पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ ।
साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा फैलाइरहेको जनाएको छ ।
साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ । साझाले काठमाडौंदेखि बागलुङ र काठमाडौंदेखि कुश्मासम्मको लामो दूरीका दुई-दुई बस समेत सञ्चालन गरिरहेको छ ।