प्रदेश ५ को नाम 'लुम्बिनी' राख्ने प्रस्ताव पनि दुई तिहाइ बहुमतले पारित
प्रदेश ५ को प्रदेशसभाले प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ। प्रदेशसभाको बैठकले स्थायी राजधानी दाङ र अर्घाखाँचीको भूभाग छोएको देउखुरी र नाम लुम्बिनी पारित गरेको हो।
प्रदशसभामा आज भएको मतदानमा नाम लुम्बिनी राख्ने पक्षमा ७९ जना र विपक्षमा ४ जनाले मतदान गरेका छन्। प्रदेश ५ मा कुल ८७ जना सांसद रहेकोमा ८३ जनाले मतदान गरेका थिए।
यसअघि प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा र ६९ मत र विपक्षमा १३ मत परेको थियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो। सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्विप नै जारी गरेको थियो।