महामारीका बेला प्रदेश राजधानीको लफडा: शंकरको शक्ति अभ्यास !
सिंगो देश कोरोना कहरमा परेका बेला प्रदेश ५ को राजधानी तोक्ने निर्णय एकाएक किन गरियो ? यसका पछाडि नेकपामा विकसित नयाँ परिदृष्यको रोचक कारण छ।
सिंगो देश कोरोनाभाइरस संक्रमणको महामारीले आकुलव्याकुल बनेको, महामारी रोकथाम, नियन्त्रण र त्यसबाट सिर्जित जीविकालगायतका समस्या समाधान गर्न तीन तहका सरकार नराम्ररी चुकेका बेला बुटवलबाट गएको शुक्रबार एउटा अनौठो खबर सार्वजनिक भयो। बुटवल अर्थात् प्रदेश ५ को अस्थायी मुकाम। साढे दुई वर्षसम्म प्रदेशको स्थायी राजधानी र नाम तय गर्न नसकेको प्रदेश सरकारले एकाएक राजधानी र नाम टुंग्याउने निर्णय गर्यो र सोही दिन त्यससम्बन्धी प्रस्ताव प्रदेश सभामा पेस गर्यो।
प्रदेशको राजधानी दाङ्गको भालुवाङ्गलाई बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गर्दै यससम्बन्धी प्रस्ताव प्रदेश सरकारले सभामा पेस गरेको थियो। नामको विषयले खासै समस्या नपारे पनि प्रदेशको राजधानी भालुवाङ्गलाई बनाउने विषयले भने बुटवल क्षेत्रमा बबण्डर मच्चायो। प्रदेश राजधानी बुटवलमै हुनुपर्ने अड्डी कसेर त्यहाँ अराजक विध्वंसात्मक प्रदर्शन शुरु गरियो। प्रशासनले निषेधाज्ञा लगाउनुपर्यो। प्रदर्शनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसदेखि अरु साना दल र समूहसँगै सत्तारुढ नेपाल कम्युष्निट पार्टी (नेकपा)का नेता र कार्यकर्तामेत सहभागी छन्। र, सोमबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले यो विवादमा प्रदेश सभा बैठकमै तोडफोड गरेका छन्।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी भालुवाङ्गलाई बनाउने विषय आफ्नो शीर्ष नेतृत्व (अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल)बाट अनुमोदन गराएलगत्तै प्रदेश सरकारले यससम्बन्धी निर्णय गरेको थियो। त्यसयता नेपाली कांग्रेसले वुटवलमा राजधानीको माग राखेर निरन्तर प्रर्दशन गरिरहेको छ। कांग्रेसंगै रुपन्देहीका स्थानीय तह र विभिन्न संघसंस्थासमेत यो पंक्तिमा देखिएका छन्।
प्रदेश सरकार र त्यसका काम नागरिकका दैनन्दिनसँग नजोडिने हुँदा प्रदेश राजधानी वुटवल वा दाङ्ग जहाँ हुँदा पनि सर्वसाधारणका लागि त्यसले के अर्थ राख्छ ? प्रदेश सभा गठन भएको साढे दुई वर्षसम्म कहिल्यै राजधानी र नामको विषयलाई प्राथमिकतामा नराखेको प्रदेश सरकारले महामारीले देश आक्रान्त बनेका बेला अधिवेशन अन्त्य हुनुअघि किन हतार–हतार निर्णय गरेर यसलाई प्रदेश सभामा प्रवेश गरायो ? यस पछाडिको कारण थप रोचक छ।
नेकपामा शंकर हावी !
२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअघि प्रदेश ५ को अस्थायी मुकाम बुटवललाई तोकिँदा स्थायी राजधानी नै बुटवल बनाउन लागिएको चर्चा चलेको थियो। त्यो चर्चाले बुटवल र आसपासमा तरंग ल्याए पनि प्रदेशको ठूलो भूभागलाई अपायक पर्ने भनेर चर्को आलोचना पनि भएको थियो।
त्यसपछि प्रदेश सभा निर्वाचन भयो, प्रदेश सभा र सरकारको मुख्यालय पनि बुटवलमै राखियो। शुरुदेखि नै दाङ्गमा प्रदेश राजधानी बनाउनुपर्ने जोडबलमा रहेका मुख्यमन्त्री शंकर पोखरेल वुटवललाई राजधानी बनाउन सकारात्मक हुने कुरा थिएन। राजधानी तोक्ने विषयबारे उनी भन्ने गर्थे, “सहमतिकै आधारमा प्रदेशको राजधानी र नाम टुंगो लगाउँछौ।”
नेकपाको विवाद मिलाउन पोखरेल पटक पटक वुटवलदेखि काठमाडौं सक्रिय भए। प्रधानमन्त्री ओलीले कुनै निर्णय गर्नुअघि पनि पोखरेलको राय लिन थाले। त्यसले गर्दा उनको काठमाडौं आउजाउ झन् बाक्लियो। नेकपामा ओलीले सबभन्दा विश्वास गर्ने नेता रहेका पोखरेलकै योजनामा ओली र दाहालको पछिल्लो मिलन सम्भव भएको थियो, जसले नेकपाको विवादलाई पनि तत्कालका लागि थान्को लगाएको छ।
सत्तारुढ नेकपामा बुटवललाई राजधानी बनाउने कि दाङ्गलाई भन्ने इगोको लडाईं बन्नपुगेको थियो। महासचिव विष्णु पौडेल बुटवलबाट राजधानी टसमस गर्न नहुने पक्षमा उभिएका थिए भने स्थायी कमिटी सदस्य एवं मुख्यमन्त्री पोखरेल दाङ्ग लैजाने जोडबलमा थिए। नेकपामा पौडेल र पोखरेल दुवैजना प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीनिकट मानिन्छन्।
नेकपाका एक प्रदेश सभा सदस्य प्रदेशको संसदीय दल र प्रदेश कमिटीबाट निर्णय गर्दा मुख्यमन्त्री पोखरेलले चाहेजस्तो दाङ्गलाई राजधानी बनाउन सकिने सम्भावना नदेखिएकाले पोखरेल शुरुदेखि नै नेकपाको केन्द्रीय नेतृत्वले यसबारे निर्णय गर्नुपर्ने पक्षमा थिए। त्यसका लागि २०७६ मंसीरमा उनले स्थायी कमिटी बैठकमै प्रदेश राजधानीबारे पार्टी नेतृत्वले निर्णय गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर, त्यसबेला यो प्रस्तावमा छलफल भएन। कारण त्यतिञ्जेल अध्यक्षद्वय ओली र दाहाल वुटवलबाटै प्रतिनिधि सभा सदस्य रहेका नेकपाका महासचिव पौडेलका कुरा धेरै सुन्थे।
तर, गएको फागुन महीनापछि नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच विवाद बढेसँगै समीकरण र परिदृष्य फेरिए। त्यहीसँगै पौडेल भन्दा पोखरेलले नेकपामा ओली र दाहाल दुवैको मन जित्दै गए।
नेकपाको विवाद मिलाउन पोखरेल पटक पटक वुटवलदेखि काठमाडौं सक्रिय भए। प्रधानमन्त्री ओलीले कुनै निर्णय गर्नुअघि पनि पोखरेलको राय लिन थाले। त्यसले गर्दा उनको काठमाडौं आउजाउ झन् बाक्लियो। नेकपामा ओलीले सबभन्दा विश्वास गर्ने नेता रहेका पोखरेलकै योजनामा ओली र दाहालको पछिल्लो मिलन सम्भव भएको थियो, जसले नेकपाको विवादलाई पनि तत्कालका लागि थान्को लगाएको छ। नेकपाका प्रदेश सभा सदस्य विष्णु पन्थी दुई अध्यक्षबीच भएको मिलन विन्दुको फाइदा उठाएर नै अहिले प्रदेश राजधानीको प्रस्ताव ल्याइएको बताउँछन्। “मुख्यमन्त्रीले आफू अनुकुलको अवस्था बनेपछि राजधानीको प्रस्ताव ल्याउनुभयो, उहाँ पूर्ण रुपमा आफ्नो योजनामा सफल देखिनुभयो,” उनी भन्छन्।
हुन त नेकपाको पूर्वमाओबादी खेमा पहिल्यैदेखि प्रदेश राजधानी दाङलाई बनाउनुपर्ने पक्षमा थियो। युद्धकालीन आफ्ना आधारक्षेत्र रोल्पा, रुकुमसंग नजिक हुने भएकाले पनि दाङमा राजधानी बनाउनुपर्ने तर्क गर्दै आएको तत्कालीन माओवादीले एकीकरणअघि आफ्नो प्रदेश कार्यालय दाङमै राखेको थियो।
नेकपाका दुवै अध्यक्षलाई दाङ्गमा प्रदेश राजधानीका लागि मनाएपछि पोखरेलले अरु कुरा पनि अनुकुल बनाएका छन्। जस्तो कि, वुटवलबाटै निर्वाचित सांसद एवम् नेकपा महासचिव विष्णु पौडेलले पनि प्रदेश राजधानी दाङलाई बनाउने निर्णयबारे खुलेर बोलेनन्। पौडेलले भित्री रुपमा गरेको यस्तो समर्थनकै कारण शुरुमा विरोधमा उत्रिएका लुम्विनीका पूर्वएमाले नेताहरु पछिल्लो समय मौन देखिए।
कांग्रेसको राजनीति
प्रदेश ५ को सभाका ८७ सदस्यमध्ये ६१ सदस्य नेकपाका छन्। नेकपाले प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेकाले अब प्रदेशको राजधानी दाङ्ग हुने निश्चित छ। सरकारले प्रदेशसभामा दर्ता गरेको यससम्बन्धी प्रस्तावमा कांग्रेसको विरोध भनिएपनि नवलपरासी पश्चिम र रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु मात्र विरोधमा देखिएका छन्। अन्य जिल्लाबाट निर्वाचित कांग्रेसका सदस्यहरु मौन छन्। बाँके र बर्दियाका कांग्रेस नेताहरुले त प्रदेश राजधानी दाङ्गमा बनाउने निर्णयको स्वागत नै गरेका छन्।
मुख्यतः रुपन्देहीका कांग्रेस कार्यकर्ताहरु धर्ना, घेराउ र तोडफोडमा उत्रिएका छन्। उनीहरुले आगामी निर्वाचनलाई ध्यानमा ारखेर यो सब गरिरहेको बुझ्न सकिन्छ।
कांग्रेस सरकारका पालामा अस्थायी राजधानी बनाइएको वुटवललाई नेकपाले टिकाउन नसकेको र नेकपा रुपन्देहीकै नेताका कारण वुटवलबाट राजधानी दाङ गएको प्रचार रुपन्देहीका कांग्रेस र कार्यकर्ताहरुले गरिरहेका छन्। नेपाली कांगे्रस रुपन्देहीका नेता प्रजापाल गिरि भन्छन्, “प्रदेश राजधानी वुटवलबाट सर्नुमा नेकपाको मुख्य भूमिका छ।”
प्रदेश राजधानीको मुद्दा चर्काएर कांग्रेस खासगरी रुपन्देही क्षेत्र नम्वर २ मा गुमेको आफ्नो बर्चश्व फर्काउन चाहन्छ जहाँबाट नेकपाका विष्णु पौडेल लगातार निर्वाचित हुँदै आएका छन्। सूर्यप्रसाद प्रधानको निधनपछि पौडेलसंग प्रतिस्पर्धा गर्ने नेता नपाएको रुपन्देही कांग्रेसका कार्यकर्ताहरु पौडेललाई टक्कर दिने व्यक्तिको खोजीमा छन्। त्यसका लागि आउँदो निर्वाचनमा गुल्मीका नेता चन्द्र भण्डारीलाई पौडेलसंग प्रतिस्पर्धा गराउने तयारी पनि कांग्रेसको एउटा पक्षले गरिरहेको छ। त्यसका लागि पनि राजधानीको मुद्दालाई चर्को बनाइएको छ।