चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एकै दिन दुई गैँडा मृत फेला परेका छन्। बाढीले बगाएको एउटा गैँडा भारतमा र अर्को गैँडा सौरहा सेक्टरमा मृत भेटिएका हुन्।
नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हँुदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करीब आधा घण्टापछि गैँडाको मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए। भारतको प्रोटोकल अनुसार मृत गैँडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम वाल्मीकि टाइगर रिजर्भबाट भएको पनि उनले बताए।
यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको एक नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा अर्को गैँडा मृत भेटिएको छ। अन्दाजी १२ वर्षको भाले गैँडा उँधोमुन्टो भएको अवस्थामा भेटिएको थियो। मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर घाइते भई मरेको हुनसक्ने अनुमान गरिएको छ।
गैँडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ। खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताए।
निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ। तीमध्ये चार वटा असोजमै मृत भेटिएका हुन्। बाढीले बगाएर मरेका दुई गैँडा गएको शनिबार र शुक्रबार सुस्ताछेउ नारायणी नदीको भङ्गालामा भेटिएका थिए।
यो वर्ष मृत भेटिएकामध्ये एउटा गैँडा मात्र चोरी सिकारीबाट मारिएका हो। गएको भदौमा मारिएको उक्त गैँडाको खाग र खुर सुरक्षित भेटिए पनि टाउकोमा गोली लागेको घाउ थियो। निकुञ्जमा हाल ६०५ वटा गैँडा छन्।