'फिल्मको लगानी घटाउन कलाकारलाई सेयर दिनुपर्छ'
लामो समय पत्रकारिता गरेका दीपेन्द्र लामा नेपाली चलचित्रको चर्को आलोचना गर्दै समीक्षा लेख्थे। त्यसपछि निर्देशनमा लागेका उनले निर्देशन गरेका तीन वटा चलचित्र रिलिज भइसकेका छन्। महामारीले चलचित्र बजारलाई पारेको प्रभावबारे लामासँग नुनुता राईले गरेको छोटो कुराकानीः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
स्क्रिप्टको काममा व्यस्त छु। दुई वटा स्क्रिप्टमा काम गरिरहेको छु।
फिल्म सुटिङमा जान पाउनुपर्ने माग भइरहेको छ। अनुमति पाए जान सकिने अवस्था छ?
सकिन्छ। किनभने अहिले पनि म्युजिक भिडियो, टेलिफिल्महरु धमाधम सुटिङ भइरहेको अवस्था छ। फिल्मलाई मात्रै अनुमति दिइएको छैन। अनुमति पाए भने धेरै युनिटहरु फिल्म छायाङ्कनका लागि भटाभट निस्कन्छन्। छायाङ्कनका लागि जान सक्ने अवस्था पनि छ। शुरुमा चाहिं फिल्मको युनिट ठूलो हुने हुँदा सबै त्रसित हुन्थे। अहिले त्यस्तो अवस्था छैन। सबै संयमित भइसकेका छन्।
अनुमति पाए तपाईंले पनि छायांकन शुरु गर्नुहुन्छ?
म अहिले गर्दिनँ। मैले ८ चैतबाट छायांकन रोकेको छु। फागुनको अन्तिम सातादेखि चलचित्र ‘दुई नम्बरी’को छायाङ्कन शुरु गरेर करीब २५ प्रतिशत काम सकिएको छ। फिल्मको अधिकांश भाग हिमाली भेगमा खिच्नुपर्ने भएकोले मंसीरदेखि खिच्न सक्ने अवस्था छैन। त्यसैले फेरि अब सम्भवतः फागुन अन्तिम साताबाटै छायाङ्कन शुरु गर्छु।
यसबीचमा अर्को फिल्म शुरु गर्नु हुन्छ कि?
अहिले स्क्रिप्टहरुमा काम भइरहेको छ। गर्दै गरेको नसकिएसम्म नगर्ने भन्ने योजना हो। हतार गर्नेभन्दा पनि विस्तारै समय लगाएर ढुक्कले काम गर्ने विचारमा छु। ‘दुई नम्बरी’ सकेपछि मात्रै नयाँ प्रोजेक्ट शुरु गर्छु।
छायाङ्कनको लागि अनुमति पाए स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम गर्न सम्भव हुन्छ?
सम्भव हुन्छ। तर, नेपालमा नियम पालना गर्ने बानी कमै मान्छेको मात्र छ। अहिले सरकारी कार्यालय, सार्वजनिक यातायातहरुमा देखिने भीडभाडले पनि त्यसलाई पुष्टि गर्छ। अरुतिर दूरी कायम भएको छैन भनेर फिल्म छायाङ्कनमा फिल्मकर्मीले लापरबाही गर्नुहुँदैन। मापदन्ड बनाएर कडाइका साथ पालना गराउनुपर्छ।
मापदण्ड पालना गराउन को अग्रसर हुने त?
हरेक व्यक्ति सचेत हुनुपर्छ। किनभने टीमको कलाकार, निर्देशक, प्राविधिक कोहीलाई पनि संक्रमण भयो भने कम्तीमा पनि तीन हप्ता काम स्थगित हुन्छ। निर्माताले यी कुरामा पनि ध्यान दिनुपर्छ। कसैलाई संक्रमण भएको पुष्टि हुने हो भने काम रोक्न तयार हुनुपर्छ। समूहमा काम गर्ने हरेक व्यक्ति सचेत हुनुपर्छ। मापदण्ड पूरा गराउन विशेषगरी निर्माता सचेत हुनुपर्छ। किनभने बीचमा कोही संक्रमित भएर छायांकन रोक्नुपर्यो भने बढी घाटा निर्मातालाई हुन्छ।
यो महामारीपछि प्रदर्शन हुने फिल्महरुको बजार कस्तो होला?
महामारीले फिल्मको बजार घटाएको छ। सात महीना त शून्य नै भयो। अब कात्तिकदेखि हलहरु खुले पनि पहिलाको जस्तो टनाटन मान्छे राख्ने अथवा दर्शक त्यसरी नै आउने अवस्था छैन। तीन शो हुनेमा दुई वटा मात्रै र चार शो हुनेमा तीन वटा मात्रै हुन्छ। बीचको समय हल सफा गर्नुपर्छ। त्यो भनेको व्यापार घट्नु हो। पहिला नाम चलेका फिल्महरुले विदेशबाट पनि रु.५० देखि ६० लाख ल्याउँथे। अब विदेशबाट पनि त्यसरी पैसा उठ्दैन। स्वाभाविक रुपमा व्यापार पनि घट्छ। अब फिल्मले बजार पाउनको लागि स्तरीय हुनै पर्छ।
यस्तो अवस्थाबाट चलचित्र क्षेत्रलाई माथि उकास्न के गर्नुपर्छ?
कन्टेन्ट राम्रो भए उकास्न समस्या छैन। तर, अब फिल्मको लगानी घटाउनुपर्छ। डेढ दुई करोड लगानीका फिल्महरु रु.७०/८० लाखमा निर्माण गर्नुपर्छ। थोरै लगानीमा उत्कृष्ट काम गर्न सक्यो भने घाटा लाग्दैन। लगानी घटाउन कलाकार, प्राविधिक अथवा निर्देशकलाई कम ज्याला दिएर चाहिं हुँदैन। बरु कलाकारलाई सेयर दिनुपर्छ।
कलाकारलाई सेयर कसरी दिने?
कुनै कलाकारलाई रु.२० लाख पारिश्रामिक दिने ठाउँमा दैनिकी चलाउनको लागि केही रकम हातमा दिने। बाँकी फिल्मको कमाइ बाँड्ने। फिल्मले कमाएको आधारमा दिने। यस्तो गर्दा फिल्म स्तरीय बनाउन सबैले मिहिनेत गर्छन्। पैसाको लागि जस्तो पनि फिल्म खेल्ने क्रम घट्ने वित्तिकै स्तरीय फिल्मको संख्या बढ्छ।