प्रदेश सभामा तोडफोड गर्ने सांसदलाई कारबाही हुँदैन: कांग्रेस सचेतक
प्रदेश-५ को प्रदेश सभामा सोमबार भएको तोडफोडमा संलग्न सांसदहरुलाई कुनै कारबाही नहुने नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलले बताएको छ।
नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलकी सचेतक निर्मला क्षेत्री आफ्ना कुनै सांसदलाई कारबाही नहुने स्पष्ट पारिन्। उनले भनिन्, "मन्त्रीले आफ्नो मर्यादा बाहिर गएर सांसदहरुलाई घिसारेर बाहिर लैजान आदेश दिएपछि उत्पन्न परिस्थितिका कारण घटना भएको हो, कुनै सांसदलाई कारबाही हुन्न।”
संसदीय परम्परा र मर्यादा विपरीत अभिव्यक्ति दिने मन्त्रीमाथि कारबाही हुनुपर्ने बताउँदै सचेतक क्षेत्रीले भनिन्, "गल्ती कसको हो भनेर बुझ्न रेकर्ड भएका संसदका गतिविधि हेरे पुग्छ।"
कांग्रेसका सांसदहरुले सरकारले पेश गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने बताइन्। कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरिसकेको छ।
प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि कांग्रेसका सांसदहरुले सोमबार प्रदेश सभामा तोडफोड गरेका थिए।