शिखा बुक्सबाट नयाँ र पुनः प्रकाशन गरिएका सात पुस्तक बजारमा
शिखा बुक्सले ‘दशैँका लागि’ विभिन्न विधाका सात पुस्तक बजारमा ल्याएको छ। शिखाले ल्याएका पुस्तकमध्ये चार वटा नयाँ छन् भने बाँकीको पुनः प्रकाशन गरिएको हो।
तीमध्ये टंक चौलागाईंको आख्यान ‘उबडखाबड’ र शान्ति शर्माको कथासंग्रह ‘ग्रिन टावेल’ नयाँ पुस्तक हुन्। त्यस्तै यो वर्षको मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँको निबन्ध संग्रह ‘भौज्याहा’ र भीष्म उप्रेतीको निबन्धसंग्रह ‘हिमाल शेर्पा र यती’ पनि नयाँ कृति हुन्।
प्रमोद प्रधानको ‘नेपाली बालसाहित्यको इतिहास’ यही साता बजारमा आउने शिखा बुक्सका पुष्पराज पौडेलले बताए। त्यसबाहेक पुरूषोत्तम बस्नेतको ‘‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’, डा. बद्रीनारायण गौतमको ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ र डा. शोभाकर पराजुलीको ‘समाजवाद र बीपी कोइराला’ पुनः प्रकाशन भएका हुन्।
‘फरक साहित्यिक रंग र स्वादका यी सात पुस्तकले पाठकहरुलाई पुस्तक–इन्द्रेणीको महसुस गराउने पौडेल बताउँछन्। केही दिनमा नै वरिष्ठ गीतकार स्व. रत्नशमशेर थापा को ‘घुम्तीमा नआऊ है’ र वरिष्ठ साहित्यकार पुस्कर लोहनीको उपन्यास ‘‘अदृश्य मान्छे’ पनि प्रकाशन गर्ने तयारी भएको उनले जानकारी दिए।