डब्लुएचओले भन्यो– विश्वमा हरेक १० मध्ये एक जना कोरोना संक्रमित हुनसक्छन्
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका हरेक १० जनामध्ये एक जनालाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने जनाएको छ। यो संख्या अझै बढ्न सक्ने पनि डब्लुएचओले चेतावनी दिएको छ।
एउटा विशेष बैठकमा डब्लुएचओका एक उच्च अधिकारीले विश्वका बहुसंख्यक मानिस कोरोना संक्रमणको अति जोखममा रहेको बताए। मुख्यालय जेनेभामा भएको बैठकमा डब्लुएचओका आपतकालीन सेवा प्रमुख डा. माइकल रायनले विश्वका करीब तीन करोड ५० लाख मान्छेलाई संक्रमण पुष्टि भइसकेको जानकारी दिए। तर, वास्तिविक संक्रमित योभन्दा बढी भएको उनको भनाइ छ।
महामारी शुरु भएको महीनौँ बितिसक्दा समेत यसको अन्त्य हुने संकेत नदेखिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे। प्रतिबन्धहरु खुकुलो बनाउँदै जाँदा धेरै देशमा संक्रमणको दोस्रो लहर देखिएको डब्लुएचओले जनाएको छ।
डा. रायनले विभिन्न देशको अवस्था अनुसार कोरोनाको प्रभाव पनि फरक रहेको बताएका छन्। उनले भनेका छन्, “यसको असर शहर र गाउँ तथा फरक समूह र समुदायमा एकै नासको छैन। तर, सबै मान्छे जोखिममा भने छन्।”
उनले महामारी रोकिने कुनै संकेत नदेखिएको र अरु जोखिम निम्त्याउने बताए। “तर, हामीसँग संक्रमणलाई रोकेर तत्काललाई ज्यान बचाउन सक्ने उपकरणहरु भने छन्।”