ट्रम्प अस्पतालबाट फर्किए, ह्वाइट हाउसका कम्तीमा अरु १२ जनालाई कोरोना संक्रमण
कोरोनाभाइरस संक्रमण भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएका छन्। उनी तीन दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्।
ट्रम्प राष्ट्रपतिको हेलिकोप्टर मरिन वानबाट ह्वाइट हाउस फर्किएका हुन्। आफ्नो कार्यालय फर्किएपछि उनले ट्विट गरेका छन्, “वास्तवमै राम्रो भएको अनुभव भइरहेको छ। कोभिडसँग नडराउनुस्। यसलाई तपाईंको जीवनमाथि प्रभुत्व जमाउन पनि नदिनुहोस्।”
यसअघि ह्वाइट हाउसका चिकित्सक डा. सिन कानलेले ट्रम्पको अवस्थामा सुधार भइरहेको र चाँडै अस्पतालबाट बिदा हुने बताएका थिए। उनले ट्रम्प पूरै निको नभए पनि घर जान सक्ने जानकारी दिएका थिए। ह्वाइट हाउसमा पनि उनको उपचार जारी रहने बताइएको छ।
उनले अब केही दिनपछि नै आफू पुनः चुनाव प्रचार थाल्ने बताएका छन्। उनले अहिले भइरहेका चुनावी सर्वेक्षणलाई ‘झूटो’ भएको दाबी गरेका छन्। उनले गरेको ट्विटमा लेखिएको छ, “झूटो समाचारले झूटो चुनावी सर्वेक्षण मात्र देखाउँछ।” अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ।
राष्ट्रपति डिस्चार्ज भएलगत्तै ह्वाइट हाउसका धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। तीमध्ये कम्तीमा १२ जना राष्ट्रपति ट्रम्पसँग नजिक भएर काम गर्ने कर्मचारी हुन्। २६ सेप्टेम्बरमा ह्वाइट हाउसमा भएको बैठकमा उनीहरु पनि उपस्थित रहेको जनाइएको छ।
संक्रमित हुनेमा ट्रम्पको निजी सचिव होप हिक्स, प्रेस सेक्रेटरी काइलेघ म्याक एनानी, पूर्व सल्लाहकार केल्याने कोनवे, क्याम्पेन सल्लाहकार क्रिस क्रिस्चिए लगायत छन्। उनीहरुमध्ये केहीलाई सामान्य र केहीलाई मध्यम लक्षण देखिएको छ।